मेची राजमार्ग अझै अवरुद्ध, खुलाउने प्रयास जारी

आश्विन २१, २०८२ |विप्लव भट्टराई
मेची राजमार्ग अझै अवरुद्ध, खुलाउने प्रयास जारी

इलाम । वर्षाका कारण अवरुद्ध मेची राजमार्ग अझै संचालनमा आउन सकेको छैन । इलाम हुँदै पाँचथरतर्फ जाने मेची राजमार्गको खण्ड हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

पहिरो खसेपछि सडक डिभिजन, स्थानीय र सुरक्षाकर्मीले सडक खुलाउने प्रयास निरन्तर जारी राखेका छन् । कार्यालयका प्राविधिक टोली र स्थानीय बासिन्दाले सडक खुलाउने प्रयास गरिरहेका छन् । ठूला र धेरै स्थानमा पहिरो झरेकाले समस्या भएको हो । राजमार्गको राजदुवाली खण्ड र इलाम राँके खण्डमा धेरै क्षति पुगेको छ ।

झापावाट फिक्कल हुँदै माईखोला र इलाम सदरमुकामवाट राजदुवाली पहिरो माथिसम्म यातायात संचालन हुन थालेको छ । पहिरो क्षेत्रमा करिव डेढ किलोमिटर पैदलनै आउजाउ गर्नु पर्ने अवस्था छ । राजदुवाली क्षेत्रको सिङ्गो डाँडानै भासिदै गएकाले कसरी सडक खुलाउने भन्ने विषयमा अन्योल रहेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले वताउनुभयो । विकल्पका लागि खोलिएका केचना-कंचनजंघा र तिल्केनी- सिमलगोलाई खण्डमा रहेका पुल वगाएपछि झापातर्फ झर्ने कुनै सडक नभएको हो ।

इलाम-नेपालटार खण्ड आज खुलाउने प्रयास भइरहेको सडक डिभिजनले जनाएको छ । जिल्लाका अधिकांश गाउँवाट सदरमुकाम जोड्ने सडक संजाल टुटेको छ ।


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।