म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन र भारत जोड्ने सडक पनि हो ।
कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताउनुभयो ।
सडक मुनी कालीगण्डकी नदी छ भने करिब आठ सय माथि र दुई सय मिटर चौडाईको पहिरो छ । पाखो पहिरोमा परिणत भएको छ । माझखर्कको बस्तिमा पनि जोखिम बनाएको छ । कोरला नाकामा सामान लिन जाने र आउने ठूला कन्टेनरहरुले पनि यही सडक प्रयोग गर्छन् । मुस्ताङ जाने आउने यात्रुबाहक बस र गाडीहरुको सिरुबारी पहिरोमा जाम हुने गरेको छ । गाडी फस्ने र साँघुरो भएकाले जाम हुने गरेको रघुगङ्गा गाउँपालिका-१ का वडासदस्य बलमान गौचनले बताउनुभयो ।
साँघुरो भएकाले पहिरो क्षेत्रमा दुईतर्फी यातायातका साधन सञ्चालन गर्न सकिदैन् । बेनी-जोमसोम सडकमा यो बर्खामा सबैभन्दा धेरै अवरुद्ध सिरुवारी र खामभित्तामा भएको छ । बेनी-जोमसोम-कोरला सडक योजनाले पहिरो नजिकै डोजर र लोडर तयारी अवस्थामा राखेको छ । बर्खायामभरी पहिरो पन्छाउदै यातायात सञ्चालन गर्दै आएको योजनाका इञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो । बर्षा रोकिएपछि पहिरोलाई पन्छाएर सरसफाई गरिने र दुईतर्फी गाडी चल्ने बनाइने उहाँले बताउनुभयो ।