धनकुटा । निरन्तरको वर्षासँगै बाढी पहिरोको जोखिम बढेको भन्दै सशस्त्र प्रहरीले धनकुटामा सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै माइकिङ गर्न थालेको छ ।
धनकुटास्थित सशस्त्र प्रहरीको छिन्ताङ गुल्मले तमोर नदी, कोशी राजमार्ग र भीत्री सडकहरुमा बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित रहन अनुरोध गरिरहेको छ । बाढी पहिरोका कारण मुख्य तथा सहायक सडक मार्ग अवरूद्ध हुन सक्ने भन्दै सचेतता अपनाउन आग्रह समेत गरिएकाे हो ।
धनकुटाका नदी तटीय क्षेत्र र राजमार्गमा सूचना र उद्धार टोली समेत परिचालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सिग्देलले जानकारी दिनुभयो । यसैबीच कोशी राजमार्ग भएर काठमाडौं जाने सबै खालका यातायातका साधन, तमोर करिडोर र भेटेटार रविराँके सडकमा ढुवानी र यातायातका साधन सञ्चालनमा रोक लगाइएको धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।
थापाले प्रहरीका चेकपोस्ट र ट्राफिक प्रहरी परिचालन गरी सतर्कता सूचना जारी गरिएको बताउनु भयो। भित्रि सडकमा चल्ने सवारीका चालक र सहचालकलाई सचेत गराइएको उहाँको भनाइ छ ।