दशैं आयाे विपिन फर्किएनन् : हारगुहार गर्दै विपिनकी आमा र बहिनी अमेरिकामा

आश्विन १६, २०८२ |हरिश्चन्द्र बाग
दशैं आयाे विपिन फर्किएनन् : हारगुहार गर्दै विपिनकी आमा र बहिनी अमेरिकामा

कञ्चनपुर । देशभर दशैंको उल्लास छाइरहेको बेला कञ्चनपुरका विपिन जोशीको परिवारका लागि भने यो दशैं पनि पीडादायी नै बनेको छ । 

लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत कृषि फर्ममा काम गर्न इजरायल पुग्नु भएका नेपाली विद्यार्थी विपिन सन् २०२३ अक्टोबर ७ देखि हमासको नियन्त्रणमा रहनु भएको छ । इजरायल-हमास युद्ध सुरू भएको पहिलो दिन मै हमासले विपिनलाई अपहरण गरेर लगेको थियो । त्यसयता रिहाईको आशामा विपिनको परिवारले तीनवटा दशैं र दुई वर्षका सबै चाडपर्व निराशामै बिताउन बाध्य हुनुपरेको छ ।

दशैंको यो उल्लासमय बेलामा कञ्चनपुरका विपिन जोशीको घरमा यसवर्ष पनि निराशा मात्रै छ । विपिनका बुबा महानन्द जोशी छोरा फर्किने दिनको प्रतीक्षामा हुनुहुन्छ । तर समय बित्दै जाँदा पीडा मात्र बढिरहेको छ । विपिनको सकुशल रिहाईका लागि अन्तर्राष्ट्रिय स्तरमा पहल बढाउन यो दशैंमा उहाँका आमा र बहिनी अमेरिकामा हुनुहुन्छ ।

यसअघि अगस्टमा उहाँहरू युद्धग्रस्त क्षेत्र इजरायलमै पुगे पनि छोराको रिहाई सम्भव नभएपछि निराश भएर खाली हात फर्किनु भएको थियो । अहिले पनि छोरालाई सकुशल फर्काउन दबाब सिर्जना गर्न विभिन्न संस्थाहरूसँग निरन्तर समन्वय गरिरहनु भएको छ ।

उता, इजरायल र हमासबीच वार्ताका लागि अन्तर्राष्ट्रिय तहमा पहल भइरहेको छ । अमेरिकी पक्षले हालै २० बुँदे प्रस्ताव अघि सारेको छ, जसमा बन्धकहरू रिहा गर्ने, गाजामा अस्थायी प्रशासन गठन गर्ने र चरणबद्ध युद्ध विराम गर्ने प्रावधान राखिएको छ ।

कतार लगायतका देशहरूले यसबारे हमाससाग वार्ता गरिरहे पनि हमासले अझै अन्तिम निर्णय नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले भने ३-४ दिनभित्र जवाफ दिनुपर्ने दबाब दिएको छ । संयुक्त राष्ट्र, युरोपेली संघ र ७ राष्ट्रहरूले समेत तत्काल मानवीय सङ्कट अन्त्य गर्न बन्धक रिहा गर्ने र युद्ध विराममा सहमत हुन दुवै पक्षलाई आग्रह गरेका छन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।