चितवन । दशैंको बेला पहिरो खसेर अवरूद्ध बनेको नारायणघाट-मुग्लिन सडकखण्ड खुल्न अझै समय लाग्ने भएको छ ।
साेमबार दिउँसो १२ बजे इच्छाकामना गाउँपालिका-५, तुईन खोलामा पहिरो खसेपछि नारायणणघाट-मुग्लिन सडक खण्ड बन्द छ । अझै स-साना पहिरो खस्ने क्रम नरोकिएकाले पहिरो हटाउन समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयाे ।
उहाँकाअनुसार अपरान्ह ५ बजेअघि बाटो खुलाउन सम्भव छैन । अहिले भरतपुर र मुग्लिन दुवैतर्फ एस्काभेटरले पहिरो हटाउने काम जारी छ । पछिल्लो दुई सातायता तुईन खोलाको पहिरोले यात्रुहरूलाई दुःख दिइरहेको छ । दशैको बेला आ-आफ्नो घर हिँडेका यात्रु आज मर्कामा परेका छन् ।