काठमाडौं । जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा आज देशभर शोक मनाइदै छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७२ जनाको मृत्यु भएको थियो ।
जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा यही भदौ ३० गतेको मन्त्रिपरिषद बैठकले आज राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । त्यहि निर्णय अनुसार आज नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा छ । यसैगरी राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
भ्रष्टाचारविरुद्ध सशक्त युवा आवाजमाथि राज्यको बर्बर दमनका कारण ७३ जनाले बलिदानी दिनु परेको हो । यो केबल दुःखद परिघट्ना मात्र होइन, देशको ऐतिहासिक यात्राको एउटा गम्भीर मोड पनि हो । देशमा सुशासन, जवाफदहीता र पारदर्शिता स्थापित होस् भन्ने माग राख्दा बगाउनु परेको प्रत्येक थोपा रगतले नेपाली समाजलाई ब्युझाइरहने छ । इतिहासले प्रमाणित गरेको छ कि नागरिकको आँसु रगत र पीडाले देशमा पुनर्जागरण लिएर आएको छ ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा बर्बर दमन हुँदा २१ जनाले ज्यान गुमाए । यसरी ज्यान गुमाउनेमा दोलखाका अभिषेश चौलागाइ, सुनसरीका अभिषेक श्रेष्ठ, बाँकेका आयुष थापामगर, काठमाडौंका इश्वत अधिकारी, बाजुरका ओझन बुँढा, कैलालीका गौरव जोशी, धनकुटाका छत्रमान कुसुमी, काभ्रेका दिलनारायण तामाङ, गोरखाका विमलबाबु भट्ट रहेका छन् ।
यसैगरि भदो २३ गते प्रहरीको गोली लागेर काठमाडौंका बुद्धिबहादुर तामाङ, अर्घाखाँचीका माधव सारुमगर, सुनसरीका मोहन सरदार, सिन्धुपाल्चोकका योगबहादुर श्रेष्ठ, भक्तपुरका योगेन्द्र न्यौपाने, काठमाडौंका रसिक खतिवडा, उदयपुरका सन्तोष विक, बाग्लुङका सौरभ किशोर श्रेष्ठ, बझाङका सुवासकुमार श्रेष्ठ, बाँकेका सुलभराज श्रेष्ठ र सुनसरीका श्रीराम चौलागाइले पनि ज्यान गुमाउनु भएको थियो ।
यसैगरि भदौ २४ गते प्रहरीको बल प्रयोग र प्रदर्शनकारीको आगजनीमा थप ५२ जनाको मृत्यु भएको छ । दोस्रो दिन ज्यान गुमाउनेमा तीन जना प्रहरी पनि थिए । सुधारगृहबाट भाग्ने क्रममा ५ बालक र जेलबाट भाग्ने क्रममा ५ कैदीले पनि ज्यान गुमाए । भाटभटैनीमा १२ सहित व्यापारिक भवन र निजी घरमा १५ जनाको ज्यान गयो भये ३ जनाको मात्र पहिचान खुलेको छ ।
मृत्यु भएकाहरुको हिजो शवयात्रासहित पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कतिपय युवाहरुको शव उनीहरुकै जिल्लामा पुर्याइएको छ ।
गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ ।