मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा. रूइत

भाद्र ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न : डा. रूइत

काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रूइतले राजनीतिमा प्रवेश गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।

उहाँले साेमबार एक विज्ञप्ति जारी गरी ‘जेन-जी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताउनुभएको हो ।

डा. रूइतले लामो चिकित्सकीय यात्रामा साथ दिँदै आएका नेपालीबाट भविष्यमा पनि सद्भाव, साथ र माया पाइरहने विश्वास व्यक्त गर्नुभयो । “मलाई प्रत्येक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गर्न आग्रह आउने गरेको छ, तर म स्पष्ट छु मेरो कर्म भनेको नेपाली र संसारभरका बिरामीलाई आफ्नो सीप, ज्ञान र समय दिएर सेवा गर्नु हो”, विज्ञप्तिमा भनिएको छ ।

डा. रूइतले सबै नागरिकले आ-आफ्नो पेसा, कर्म र व्यवसायमा इमानदारीपूर्वक लागे मुलुकको अवस्था परिवर्तन गर्न धेरै समय नलाग्ने बताउनुभयो । आफू निरन्तर चिकित्सकीय पेसामार्फत नागरिक सेवामा तल्लीन रहने उहाँको भनाइ छ ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.