काठमाडौं । भ्रष्टाचारविरूद्धको नारासहित भदौ २३ र २४ गते भएको जेन-जी समूहको आन्दोलन केबल भ्रष्टाचारविरोधी लहरमा मात्र सीमित रहेन ।
आन्दोलनले उथलपुथल नै गराइदियो र राजनीतिक दलहरूको सत्ता ढल्यो । आन्दोलनमा होमिएका युवाहरुले तत्कालीन प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुविरूद्ध सडकमा नारा घन्काए ।
दलका कार्यालय र नेताहरूका निवासमा आक्रोसित युवाहरूले तोडफोड र आगजनी गरे । यसले शीर्ष नेताहरूप्रति युवामा कति वितृष्णा पैदा भएको रहेछ भन्ने देखिएको छ । तर त्यति हुँदा पनि कुनै पनि शीर्ष नेताले नेतृत्व छाडेका छैनन् । न त उनीहरू सार्वजनिक भएर आफ्नो धारणा नै प्रष्ट पारेका छन् । यसले दलका युवा नेतामा असन्तुष्टिसँगै अन्योल बढेको छ ।
जेन-जी आन्दोलन सफलतासँगै पुराना दलहरूभित्र नेतृत्वले अवकाश लिनुपर्ने अन्यथा जनताले सबैलाई बढार्ने बहस चर्किएको छ । नेतृत्वकै कारण राजनीतिक दलहरुमा वितृष्णा पैदा भएपछि दलहरूमा यो बहस सुरू भएको हो ।
नेपाली कांग्रेस अहिले अन्योलग्रस्त अवस्थामा छ । सभापति शेरबहादुर देउवा २०४८ साल यता सधैं सत्ताको केन्द्रमा रहँदै पाँचपटक त प्रधानमन्त्री भइसक्नुभएको छ । उहाँ छैटौं पटक प्रधानमन्त्री हुने पालो पर्खंदै हुनुहुन्थ्यो ।
एक दशकसम्म पार्टी सभापति भइसक्नुभएको थियो । अझै सभापतिको कार्यकाल २ वर्ष लम्ब्याउने कसरत उहाँको थियो । तर जेन-जी आन्दोलनपछि राजनीतिले अर्कै मोड लिएको छ ।
त्यति हुँदा पनि देउवाले सभापतिबाट राजीनामा दिएर बाहिरिने विषयमा मुख खोल्नुभएको छैन । देउवालाई खुसी बनाएर होस् या चुनौती दिएर पार्टीको भावी नेतृत्व सम्हाल्ने कसरतमा रहेका नेताहरूलाई पनि आन्दोलनले धक्का दिएको छ । अहिले कांग्रेसभित्र पुरै नयाँ नेतृत्व आउनुपर्ने बहस चुलिएको छ ।
नेकपा एमालेमा पनि अध्यक्ष केपी शर्मा ओलीको हठका कारण अहिलेको परिस्थिति सिर्जना भएको विश्लेषण भइरहेको छ । ओलीले आफू पार्टी नेतृत्व र सत्तामा टिकिरहन विधान नै संशोधन गराउनुभएको थियो ।
युवाको भावना बुझ्ने प्रयास न नेतृत्वले गरेको थियो न ओलीको विकल्प दिन अरू नेता नै तयार थिए । जेन-जी आन्दोलनपछि नेतृत्व परिवर्तनको आवाज उठ्न थालेको छ । तर अध्यक्ष ओलीले मुख खोल्नुभएको छैन ।
पार्टीका पदाधिकारीले समेत बोल्ने आँट गरेका छैनन् । तर विगतमा ओलीका गलत कामको आलोचना गर्दै आएका नेताहरू अब पहिलो र दोस्रो तहका नेताले मार्ग प्रसस्त गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल ३४ वर्षदेखि निरन्तर पार्टीको नेतृत्वमा हुनुहुन्छ । पछिल्लो १ वर्षयता उपमहासचिव जनार्दन शर्माले दाहालको विकल्प खोज्नुपर्ने मत राख्दै आए पनि अरू नेताले साथ दिएका थिएनन् । अहिले जेन-जी आन्दोलनपछि भने पार्टीको अस्तित्व नै संकटमा पर्ने देखिएपछि अरू नेताले पनि दाहालको विकल्प खोज्नुपर्ने आवाज बलियोसँग उठाउन थालेका छन् ।
यता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीमा पार्टी परित्याग गर्नेहरूको लहर नै चलेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका दोस्रो र तेस्रो तहका नेतासमेत नेतृत्व परिवर्तन हुनुपर्ने भन्न थालेका छन् । मधेश केन्द्रित जसपा, लोसपालगायतका दलमा पनि त्यही आवाज उठ्न थालेको छ ।
यसअघि दलहरूभित्र नेतृत्व परिवर्तनको आवाज झिनो रूपमा उठ्ने गरे पनि न नेतृत्वले त्यसबारे चासो देखायो न त अरू नेताहरूले नै दबाब सिर्जना गरेर विस्थापन गर्न सके ।
बरू नेतृत्वलाई रिझाएर सत्ताको स्वाद चाख्ने होडबाजी भयो । अहिले जेनजीको आन्दोलनले राजनीतिक परिवर्तन नै गराइ दिइसक्दा पनि नेतृत्व न बदलिएको छ, न त उनीहरूले आत्ममूल्यांकन गर्दै जिम्मेवारी छाडेका छन् ।