काठमाडौं । बानेश्वरमा जारी जेन-जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा ६ जनाको ज्यान गएको छ।
ट्रमा सेन्टरमा उपचारका क्रममा ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले टाउको र छातीमा गोली लागेका १० जना अझै गम्भीर अवस्थामा रहेको जानकारी दिनुभएकाे छ । उहाँकाअनुसार २० भन्दा बढी अन्य घाइतेको पनि उपचार भइरहेको छ।
त्यस्तै, सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले त्यहाँ ल्याइएका दुई जनाको मृत्यु भएको र दर्जनौं घाइते उपचाररत रहेको बताउनुभएकाे छ। मृतकहरूको परिचय भने सार्वजनिक भइसकेको छैन।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा, अश्रुग्यास र गोली प्रयोग गरेको थियो। घाइतेहरूलाई ट्रमा सेन्टर, सिभिल, एभरेस्टलगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
सामाजिक सञ्जालमा सरकारको प्रतिबन्ध र भ्रष्टाचारविरूद्ध उठेको आन्दोलन अन्तर्गत जेन-जी पुस्ता सडकमा उत्रिएका हुन्। काठमाडौंसहित देशका मुख्य सहरहरूमा यस्ता प्रदर्शन भइरहेका छन्।