सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया

भाद्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको छ : मन्त्री चौरसिया

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सङ्क्रमकालीन न्याय छिटो दिन सरकार निरन्तर लागिरहेको बताउनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बलपूर्वक बेपत्ता पारिएका पीडितको अन्तरराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री चौरसियाले भन्नुभयो, “ऐन संशोधन भएपछि दुवै आयोगमा पदाधिकारी आएका छन्, नियमावली संशोधनको अन्तिम चरण छ, मन्त्रिपरिषद्मा पुगेको छ, छिटो न्याय दिन काम गर्नुस्, सरकार सहयोग गर्न तयार छ ।”

सङ्क्रमणकालीन न्यायसम्बधी ऐन संशोधन भएर सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीसमेत आइसकेका छन् । 

मन्त्री चौरसियाले दुवै आयोगले तीव्र गतिमा काम अघि बढाउनुपर्ने र आवश्यक जनशक्तिका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले सरकारले दुवै आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले व्यक्ति बेपत्ता पार्ने व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्ने र पीडितलाई न्याय दिन माग गर्नुभयो । उहाँले सङ्क्रमकालीन न्यायसम्बन्धी आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गडतौलाले सङ्क्रमणकालीन न्याय प्रक्रिया लामो भएको हुनाले द्वन्द्वका घाउमा मलम लगाउन ढिलाइ भएको स्वीकार गर्नुभयो । 

उहाँले द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिको तथ्याङ्कमा एकरूपता नभएकाले तथ्याङ्क एकरूपता गर्ने काम भइरहेको तथा तीव्र रूपमा काम गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा कार्यक्रममा सहभागी पीडितहरुले न्याय प्रक्रियामा ढिलाइ भएको, प्रतिक्षा लामो भएकोलगाययत गुनासो गर्नुभएको थियो ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.