सिन्धुपाल्चोक/ सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय बाह्रविसे र दोलखा प्रहरीले संयुक्त अपरेसनमार्फत अमेरिकी डलर देखाएर ठगी गर्ने योजनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीवार बाह्रबिसे नगरपालिका–७ सुनकोसीस्थित जंगल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाह्रबिसे–३ धार्पाका विष्णु भण्डारी रहेका छन् । उनको साथबाट अमेरिकी ५० डलरका १७ थान र १ डलरका ५४८ थान नोट बरामद गरिएको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेले जानकारी दिनुभयो ।
बा ०२–०५४ प ०७३२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ । विशेष सूचनाका आधारमा निगरानी गरिएको घटनामा प्रहरीले अपरेसन थाल्दा भण्डारी पक्राउ परेका हुन् । भण्डारीसँगै रहेका अर्का एक जना भने भोटेकोसी खोलामा हाम फालेर फरार भएको प्रहरीले जनाएको छ ।