कञ्चनपुरमा वर्ड फ्लु नियन्त्रण समितिको निर्णय : सीमावर्ती क्षेत्रमा पन्छीजन्य सामग्री आयातमा प्रतिबन्ध

भाद्र ११, २०८२ |हरिश्चन्द्र बाग
कञ्चनपुरमा वर्ड फ्लु नियन्त्रण समितिको निर्णय : सीमावर्ती क्षेत्रमा पन्छीजन्य सामग्री आयातमा प्रतिबन्ध

कञ्चनपुर । छिमेकी राष्ट्र भारतको उत्तराखण्ड राज्यमा वर्ड फ्लु फैलिएको खबर सार्वजनिक भएपछि कञ्चनपुरमा सतर्कता उच्च गरिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आकस्मिक रोग नियन्त्रण सेवातर्फ जिल्ला स्तरीय वर्ड फ्लु रोग नियन्त्रण समितिको बैठक प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा बसेर कडा निर्णयहरू गरेको हो ।

बैठकले भारतबाट पन्छी तथा पन्छीजन्य सामग्री नेपाल भित्रिन नदिने व्यवस्था नेपाल राजपत्रमै प्रकाशित भइसकेको भए पनि अझ कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । सोअनुसार कञ्चनपुरका दोधाराचाँदनी, भीमदत्त, बेलडाँडी, बेलौरी र पुनर्वासस्थित सीमावर्ती क्षेत्रमा पन्छी तथा पन्छीजन्य वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ ।

त्यस्तै, सीमावर्ती स्थानीय तहहरूसँग समन्वय गर्दै जनप्रतिनिधि, व्यवसायी, किसान र सरोकारवालासँग अन्तर्क्रिया गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

सो बैठकबाट रोग नियन्त्रणका लागि सुरक्षा निकाय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूले जुनसुकै समयमा पनि आकस्मिक अनुगमन गर्ने र अवैध आयात भेटिए कानुन बमोजिम कारबाही गर्ने निर्णय समेत गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार भारतको उत्तराखण्ड राज्यको बागेसर र उद्धमसिंहनगरमा वर्ड फ्लु देखिएको अवस्थामा नेपालमा रोग नफैलियोस् भन्ने उद्देश्यले सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी, चारवटै सुरक्षा निकायका प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख श्याम सिंह खड्का, महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्ट, रेडक्रस जिल्ला शाखाका सभापति टेकराज उप्रेती, पशु चिकित्सक र कुखुरा व्यवसायीहरूको आ-आफ्ना धारणा राख्दै वर्ड फ्लु नियन्त्रणमा ऐक्यबद्धता जनाउनु भएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।