कञ्चनपुर/ कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव पुनः तीव्र गतिमा बढेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शनिबार बिहान नदीमा पानीको बहाव १ लाख १९ हजार ९३३ क्युसेक मापन गरिएको थियो भने दिउँसो बढेर १ लाख ७० हजार ६०६ क्युसेक पुगेको छ ।
महाकाली नदीमा पानीको बहाव बढेसँगै नदी तटीय बस्तीमा बसोबास गर्ने नागरिकहरुलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
यसै क्रममा नदीमा पानीको बहाव बढेपछि भारतीय प्रशासनले सुरक्षाको कारण देखाउँदै नेपाल-भारत सीमा क्षेत्रमा पर्ने बनबासा पुलमार्फत चार पाङ्ग्रे सवारी साधनको आवागमनमा रोक लगाएको छ । तर दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुको आवागमन भने यथावत् रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वर्षायाममा महाकाली नदीमा बहाव बढ्नु सामान्य भए पनि १ लाख क्युसेक भन्दा बढी पुगेपछि सतर्कताका लागि चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरिएको छ ।