काठमाडौं । नेपाली भूमि लिपुलेक नाका प्रयोग गर्दै सीमा व्यापार गर्ने भारत र चीनबीच भएको सहमतिप्रति सांसदहरुले आपत्ति जनाएका छन् । सांसदहरुले राष्ट्रियताको विषयमा सबै राजनीतिक दललाई एकजुट हुनसमेत आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपालको भूमि प्रयोग गर्ने गरी भारत र चीनले व्यापार सम्झौता गरेको गरेकोमा आपत्ति जनाएका हुन् ।
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले भारत र चीनले नेपालको अनुपस्थितिमा गरेको सहमतिलाई आपतिजनक भन्दै स्वीकार्य नहुने बताउनुभयो । उहाँले सबै दल एकै ठाउँमा उभिएर राष्ट्रिय सहमति कायम गरी कूटनीतिक पहल गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले तत्काल उच्चस्तरीय संवादबाट समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चीन-भारतबीच भएको सहमतिप्रति आपत्ति जनाउनुभयो ।
बैठकमा केही सांसदले दुई देशबीच भएको सहमति नसच्याएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमण नै नगर्न सुझाव दिए ।
सांसदहरुले लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालको भूमि भएको भन्दै नेपालसँगको अनुमतिबिना दुई देशबीच भएको सहमति स्वीकार्य नहुने बताए ।