खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

भाद्र २, २०८२ |उत्तम चौलागाईं
 खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु

खोटाङ । खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । डेङ्गु सङ्क्रमितको संख्या दैनिकरुपमा बढेपछि लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।

पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय खोटाङले सुरु गरेको अभियानकाक्रममा दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेज तथा बजार क्षेत्रभित्र सरसफाइ गर्दै पानी जमेका भाँडाकुँडा र टायरलगायतका सामग्री हटाइएको स्वास्थ्य कार्यालय प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभयो । 

सरोकार निकाय तथा बजारबासीको सकृय उपस्थितिमा डेङ्गुको असर, सर्ने तरिका तथा बच्ने उपायका बारेमा सचेतनासमेत गराइएको उहाँको भनाई छ ।

लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन गर्न पत्राचारसमेत गरिएको जनाइएको छ । डेङ्गुको सङ्क्रमण भएका व्यक्तिमा आँखाको पछाडि (भित्रि) भाग अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी, हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरु सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु जस्ता लक्षण देखिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।


Image

उत्तम चौलागाईं

चौलागाईं कान्तिपुर टेलिभिजनका खोटाङ संवाददाता हुन् ।