भोजपुर क्याम्पसमा आंशिक प्राध्यापकहरु आन्दोलित

श्रावण २९, २०८२ |अर्जुन बस्नेत
भोजपुर क्याम्पसमा आंशिक प्राध्यापकहरु आन्दोलित

भोजपुर। त्रिभुवन विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुलाई शिक्षण सहायक बनाउने निर्णय भएको चार महिना हुदाँ समेत त्रिवि ब्यवस्थापनले चासो नदिएको भन्दै आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रेका हुन् । भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरुले विहीबारबाट चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।

त्रिभुवन बिश्वबिद्यालय र आंशिक प्राध्यापक संघर्ष समिति बीच २०८१ साउन १८ गते सहमति भई त्रिवि कार्यकारी परिषद्ले आंशिक प्राध्यापकहरुलाई रिक्त दरवन्दीमा शिक्षण सहायक बनाउने सहमति गरेको थियो । जसअनुसार 'घ' बर्ग अन्तर्गतका क्याम्पसहरुलाई कार्यबिधि बनाई आंशिक ब्यवस्थापनमा कार्यरत शिक्षक र कक्षाभार पुगेका कार्यरतलाई शिक्षण सहायक पदमा नियुक्ति प्रक्रिया अगाडी बढाउने निर्णय अनुसार भोजपुर क्याम्पसले समेत सम्पूर्ण प्रक्रिया पुर्याएर अनुमोदनका लागि त्रिवि परिषद्मा पठाएको थियो ।

कोशी प्रदेशको भोजपुर क्याम्पस र तेह्रथुम क्याम्पससहित अन्य प्रदेशका तीन क्याम्पसहरु घ बर्गमा बर्गिकरण भएका छन ।निर्णय कार्यान्वयन नहुँदा आफुहरु पुनः आन्दोलनमा जानु परेको भोजपुर बहुमुखी क्याम्पसमा कार्यरत आंशिक प्राध्यापक चन्दन कट्वालले जानकारी दिनुभयो । उहाँले २०८१ चैत्र २७ र २८ गते बिभिन्न बिषयमा कार्यरत १७ जना आंशिक प्राध्यापकले कार्यबिधी अनुसार सवै प्रक्रिया पुरा गरि प्राप्तांक समेत पाएको र सो निर्णय त्रिवि कार्यकारी परिषद्मा पठाइएको बताउनुभयो ।

यता क्याम्पस प्रमुख डा. पर्वतकुमार राईले भने त्रिविको केन्द्रिय कार्यालयबाट हुने निर्णयहरु आफुले कार्यान्वयन गर्ने बताउनुहुँदै देखिएको समस्या समाधानका लागि आफुले पनि पहल गरिरहेको बताउनुभयो । 


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।