नागरिकतासम्बन्धी विधेयकः विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता

श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
नागरिकतासम्बन्धी विधेयकः विदेशमा जन्मिएका सन्तानलाई पनि आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता प्राप्तिमा सहयोग नगरेमा तथा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्था विधेयकमा राखिएको उल्लेख गर्नुभयो । 

उहाँले बुबाले सन्तानलाई अपनत्व नदिएको वा आवश्यक स्नेह नदिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता रहेको समेत स्पष्ट पार्नुभयो । उहाँले आमाको नामबाट नागरिकता उपलब्ध गराउने विषयमा सर्वोच्च अदालतबाट समेत सरकारको निर्देशकात्मक आदेशका आधारमा सरकारले विधेयक अगाडि बढाएको बताउनु भयो । 

आमाको नामबाट नागरिकता दिँदा आमाले स्वघोषणा गरे मात्रै पनि हुने उहाँले बताउनु भयो । उहाँले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरिएको बताउनु भयो ।

उहाँले सन्तानले आमा नामबाट नागरिकता लिँदा बुबा नाम राख्न नचाहेको अवस्थामा समेत नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित