कैलाली कारागारभित्र झडपमा मृत्यु भएका परिवारलाई पाँच लाख दिइने

४८ जना घाइतेको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने
श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैलाली कारागारभित्र झडपमा मृत्यु भएका परिवारलाई पाँच लाख दिइने

कैलाली । कैलाली कारागारमा झडपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम सरकारले पाँच लाख राहत उपलब्ध गराउने भएको छ।

कैलाली कारागारभित्र २३ गते राति कैदीबन्दीहरूको दुई समूहबीच झडपमा परी एक जनाको मृत्यु भएको थियो भने ४८ जना कैदीबन्दी घाइते भएका थिए। सुदूरपश्चिम प्रदेश सुरक्षा समितिको बैठकले धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय मृतक कैदीबन्दी भरत चौधरीको परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो। बैठकले झडपमा घाइते भएका सम्पूर्ण ४८ जना कैद बन्दीको सम्पूर्ण उपचार खर्च सकारले बेहोर्ने निर्णय पनि गरेको छ।

बैठकले कारागारभित्र हेलोजन लाइट, सिसिटिभी क्यामेरा शीघ्र जडान गर्ने निर्णय पनि गरेको छ । त्यस्तै कारागारको छानालगायत आवश्यक मर्मतसम्भार कार्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तत्काल सुरू गर्ने पनि जनाइएको छ।

यसैबीच, हिंसात्मक झडपले अस्तव्यस्त बनेको कैलाली कारागार ४२ घन्टापछि सुरक्षा नियन्त्रणमा आएको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोलीले हिजो साँझदेखि अनुमगन र अध्ययन सुरु गरेको छ ।

अनुगमनबाट फर्केका राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक प्रकाशदत्त भट्टले बन्दीगृह भित्रका कैदीबन्दीको अवस्था सामान्य रहेको बताउनुभएको छ । कारागार प्रशासनले घटनाको तेस्रो दिन कैदीबन्दीहरुको 'हेड काउण्ट' समेत गरेका छन् । सामान्य अवस्थामा हरेक साँझ कारागार प्रशासनले कैदीबन्दीको गणना गर्नुपर्ने नियम छ । घटना भएको दिन कूल सात सय कैदीबन्दी रहेकोमा अहिले ३ सय ९८ जना 'ए' ब्लकमा, एक सय ९६ जना 'बी' ब्लकमा र महिला ब्लकमा ५७ जना रहेको पाइएको निर्देशक भट्टले जानकराी दिनुभयो । शुक्रबार रातिको झडपमा एक जनाको मृत्यु भएको थियो भने ४८ जना घाइते उपचाररत छन् ।

कारागारभित्र सुरक्षा व्यवस्थापनमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि सुदूरपश्चिम प्रदेश सरकारले गरेको छ । कारागारको क्षमता भन्दा झण्डै पाँच गुणा बढी कैदीबन्दी रहेको हुँदा उत्पन्न सुरक्षा चुनौनी न्यूनीकरण गर्न कारगारको क्षमताअनुसार कैदीबन्दी व्यवस्थापनका लागि कारागार विभागसँग समन्वय गर्ने पनि सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित