मदन भण्डारी आवास योजना फेरि विवादमा, बनेका घरसमेत भत्किने अवस्था

श्रावण २५, २०८२ |उपेन्द्र ठाकुर
मदन भण्डारी आवास योजना फेरि विवादमा, बनेका घरसमेत भत्किने अवस्था

वीरगञ्ज । मदन भण्डारी सुरक्षित आवास योजनाअन्तर्गत विपन्नका लागि बारामा निर्माण भईरहेको घर विवादित बनेको छ । साँध सीमानाको विषयलाई लिएर भएको विवाद समाधान गर्न अनुगमनमा पुगेको टोलीसँग स्थानीयले चर्को विवाद गरेका छन् ।

बारा जीतपुरसिमरा-१६ दलित समुदायकी विपन्न महिला नमिया माझी यतिबेला निकै तनावमा हुनुहुन्छ । मदन भण्डारी आवास योजनाअन्तर्गत बन्न लागेको उहाँको घर बिवादमा तानिएपछि तनाव बढेको हो । छाप्रोमा निकै कष्ट गरेर बस्दा कसैको आँखा नपुगेको बताउने उहाँले अहिले सरकारले पक्कि घर बनाउन थालेपछि धेरैको आँखा लागेको उहाँको दुखेसो छ।

यहिका स्थानीय बुधन माझीको पीडा पनि उस्तै छ । खरको छाप्रोभित्र एउटै कोठामा तीन पुस्ता बस्नुपर्ने उहाँको बाध्यता थियो । तर सरकारले बनाउन लागेको यो घरले राहत हुने भएपनि केहीलाई दलितको खुसी मन नपरेको उहाँको गुनासो छ ।

मधेश प्रदेश सरकारको मदन भण्डारी आवास योजनाअन्तर्गत १६ नम्बर वडामा बिपन्नका लागि २० वटा घर बनाउने योजना परेको छ । जसअन्तर्गत ८ वटा वडाका अन्यत्र ठाउँमा र १२ वटा यो बस्तिमा निर्माण भईरहेको छ । 

प्रतिघर पाँच लाख ३७ हजार रूपैयाँको लागतमा पूर्वाधार विकास कार्यालय बारामार्फत निर्माण भईरहेको भवनहरू सार्वजनिक जग्गामा निर्माण भईरहेको र प्रयोग भएका निर्माण सामाग्री कमजोर गुणस्तरको भएको भन्दै विवादित बनेको हो ।

अहिले आएर यसै वडासँग साँध जोडिएको १५ नम्बरका वडा अध्यक्षले दलितहरूको घर बन्न लागेको यो ठाउँ बालगागा नदिको धार भएको र अहिले खोलाले धार परिवर्तन गरि १५ नम्बरका केही स्थानीयको जग्गामा बगेको भन्दै वडामा सामुहिक निवेदन परेको भन्दै निर्माण रोक्का गर्न विभिन्न निकायमा पत्राचार गरेका छन् ।

उता १५ नम्बर वडाका केही स्थानीयले जिल्ला प्रशासन कार्यालय बारामा समेत निर्माण रोक्का गर्न उजुरी दिएपछि जिल्ला प्रशासन कार्यालय बाराको नेतृत्वमा प्राविधिक समेतको टोलीले स्थलगत अनुगमन गरेको छ ।

अनुगमनको क्रममा बालगागा खोलाको धार भएको वास्तविक ठाउँ यकिन गर्न नापीका प्राविधिकहरूले प्रयास गर्दा दलितहरूले कडा विरोध जनाएपछि यो टोली जग्गानाप जाँच नै नगरी फिर्ता भएको हो ।

निर्माणाधिन दलित बस्ति विवादित बन्दा पनि दलितहरूको पिडा बुझ्न उपमहानगरका मेयर उपमेयर कोही नआएको दुखेसो पोख्दै उनीहरूले दलितको घर बन्न नदिन मेयर उपमेयर समेत लागि परेको आरोप लगाएका छन ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।


सम्बन्धित