रूपन्देही । "स्वस्थ पशुपन्छी, खुसी किसान- समृद्ध लुम्बिनी" नारालाई साकार पार्न लुम्बिनी प्रदेश सरकारले नयाँ सेवा थप गरेको छ ।
यसले अब किसानलाई आफ्ना पशुपन्छी बिरामी हुँदा रोग पत्ता लगाउनकै लागि पोखरा वा काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । पश्चिम नवलपरासीमा स्थापना भएको पशु रोग अन्वेषण प्रयोगशालाले सेवा दिन थालेपछि प्रदेशका किसानहरूले ठूलो राहत पाएका छन् ।
कुनै समय थियो, जब लुम्बिनी प्रदेशका किसानहरू आफ्ना पशुपन्छी बिरामी पर्दा रोग पत्ता लगाउनकै लागि लामो यात्रा गर्न बाध्य थिए । तर, गत वर्षदेखि सञ्चालनमा आएको पशु रोग अन्वेषण प्रयोगशालाले यो बाध्यतालाई अन्त्य गरिदिएको छ ।
प्रयोगशालाले गत आर्थिक वर्षमा मात्रै ५६ सय ६९ वटा विभिन्न नमूना परीक्षण गरी रोगको सफल निदान गरेको छ, जसले किसानलाई ठूलो राहत मिलेको छ । प्रयोगशालाले विशेषगरी खोरेत, रेबिज, पीपीआर र अफ्रिकन स्वाइन फिभरजस्ता गम्भीर रोगको छिटो पहिचान गर्छ ।
यसका साथै, गत आर्थिक वर्षमा मात्रै प्रयोगशालाले एक सय १९ वटा गोबर नमूना परीक्षण गरी पशुको पेटमा रहेको जुका-नाम्ले पत्ता लगाएको छ । त्यस्तै, तीन हजार दुई सय ४३ वटा रगत नमूनाको जाँच गरी रगतमा हुने परजीवी र अन्य समस्याको निदान गरेको छ ।
पशु मर्नुको वास्तविक कारण थाहा पाउन एक हजार वटा पोष्टमार्टम गरिएको छ, जसले रोगलाई थप फैलिनबाट रोक्न मद्दत पुगेको छ । अझ महत्त्वपूर्ण कुरा, दूध र मासुको कल्चर गरी कुन ब्याक्टेरियाले संक्रमण गराएको हो र त्यसका लागि कुन औषधी प्रभावकारी हुन्छ भनेरसमेत प्रयोगशालाले सिफारिस गर्छ । यसले अनुमानको भरमा एन्टीबायोटिक प्रयोग गर्ने चलनलाई निरूत्साहित गरेको छ ।
प्रयोगशालाले रोग निदान मात्र नभई, रोगको निगरानी र नियन्त्रणका लागि जिल्ला-जिल्लामा पुगेर नमूना संकलन र परीक्षण गर्ने कामलाई पनि तीव्रता दिएको छ । यदी कुनै जटिल परीक्षण आवश्यक परेमा, प्रयोगशाला आफैले काठमाडौास्थित केन्द्रीय प्रयोगशालामा नमूना पठाउने व्यवस्था मिलाएको छ, जसले किसानलाई थप झन्झटबाट मुक्त गरेको छ ।
प्रयोगशालाले रोग निदानका लागि टाढा धाउनुपर्ने बाध्यता मात्रै हटेको छैन्, किसानको खर्च र पशुधन तीनै कुराको बचत गरेको छ । समृद्धिको प्रमुख आधार कृषि मानिएको प्रदेशमा समयमै सही उपचार पाउादा पशुधन सुरक्षित भएको छ भने किसानको अनुहारमा खुसी फर्किएको छ ।