नुवाकोट । १० वर्षअघि नै सुरू भएको सिद्धबाबा वैकल्पिक मार्ग दोभान-नुवाकोट-८ किलोमिटर सडक अझै पूरा भएको छैन । आर्थिक वर्ष २०७२/७३ मा पहिलो चरणको ठेक्का सम्झौता भएको यो सडक सरोकारवाला निकायको बेवास्ताले अहिलेसम्म कालोपत्रे हुन नसकेको हो ।
दोभान नुवाकोट बेल्वास १७ किलोमिटर सडक रूपन्देही र पाल्पामा पर्छ । रूपन्देही खण्डको ९ किलोमिटर सडक ५ वर्षअघि नै कालोपत्रे भइसकेको छ । पाल्पातर्फ भने ८ किलोमिटर अहिले पनि संघअन्तर्गत रहेर अलपत्र छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सडक क्षेत्रमा सुरूङमार्गको काम सुरू भएसँगै दोभान-नुवाकोट सडकमा काम अघि बढ्न सकेन । यसबीचमा बजेट नै विनियोजन नहुँदा बनेको सबबेसको कामसमेत बिग्रिएको छ । ५ वर्षदेखि बजेट नपर्दा अलपत्र बनेको यस सडकमा आर्थिक वर्ष २०८१/८२ मा दुई वटा ठेक्का लागेको थियो । काम भने सुस्त छ ।
दोभान-नुवाकोट सडकको माथिल्लो क्षेत्र रूपन्देहीको सीमानातर्फ काम गर्नेगरी लुम्बिनी प्रदेशअन्तर्गत सडक पूर्वाधार विकास कार्यालय पाल्पाले पनि एक करोडको ठेक्का लगाएको छ ।
२०८२ असारको अन्तिममा लगाएको ठेक्काको अझै सम्झौता भएको छैन । योजनाअनुरूप काम भएको भए दोभान-नुवाकोटको काम ५ वर्षअघि नै सकिएर सवारीसाधन गुड्न सक्ने थिए ।
सरोकारवाला निकायले बेलैमा ध्यान दिएको भए वैकल्पिक सडक कालोपत्र हुन्थ्यो भने घण्टौ जाममा परेर बस्नुपर्ने थिएन । १० वर्षदेखि काम हुन्छ हुन्छ भन्ने मात्र भयो अहिलेसम्म नभएपछि निकै सास्ती खेप्नु परेको छ । यो सडक भएर यात्रा गर्ने साना सवारी साधन बढी मर्कामा परेका छन् ।
१० वर्षअघि नै ग्राभेलको काम सकेर रिटेनिङ वाल, नाली तथा कल्भर्ट निर्माणको काम भइरहेको थियो । तर कालोपत्रे गर्ने गरि टेण्डर हुन नसक्दा अलपत्र परेको छ । आपतकालीन अवस्थामा सवारी आवागमनका लागि सडक प्रयोग गर्न सकिनेगरी ग्राभेलको काम भएको थियो । तर वर्षौदेखिको बेवास्ताले गर्दा सडक जीर्ण बन्दै गएको छ ।
सिद्धबाबा खण्डको पहिरोको जोखिम र जाममा फस्नुभन्दा साना सवारीसाधनले दोभान-बेलबास वैकल्पिक मार्ग प्रयोग गर्दा उचित हुन्थ्यो ।