प्रहरीको गोलीबाट मारिएका लालुको घरमा मधेशका मुख्यमन्त्री सिंह

शोकाकुल परिवार र गाउँलेसँग भेटेर लिनुभयाे घटनाको विस्तृत जानकारी
श्रावण २५, २०८२ |आरएन विश्वास
प्रहरीको गोलीबाट मारिएका लालुको घरमा मधेशका मुख्यमन्त्री सिंह

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा प्रहरीको गोलीबाट मारिएका लालु यादवको घरमा आइतबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पुग्नुभएको छ ।

मुख्यमन्त्री सिंहले मृतक यादवको घर र घटनास्थलमा पुगेर शोकाकुल परिवारका सदस्य, स्थानीयवासी र नागरिक समाजसँग भेटघाट गरी घटनाबारे विस्तृत जानकारी लिनुभएको हो ।

स्वर्गीय यादवप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मुख्यमन्त्री सिंहले शोकसन्तप्त परिवारजनलाई यस असहनीय क्षतिमा धैर्य धारण गर्ने शक्ति भगवानले प्रदान गरून् भन्ने कामना गर्नुभयो ।

सोहीक्रममा मुख्यमन्त्री सिंहले घटनासम्बन्धी आवश्यक अनुसन्धान र छानबिनका कार्यहरू अगाडी बढिरहेकाले सत्य तथ्य चाँडै सार्वजनिक हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका यादवमाथि गत साउन २० गते राति सप्तरी प्रहरीले तस्करी नियन्त्रणको नाममा पक्रेर गोली चलाउँदा उनको मृत्यु भएको थियो ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।