कैदीबन्दीबीचको झडपमा एकको मृत्युपछि कैलाली कारागारमा दिनभर तनाव, घटनाको छानबिन गर्न समिति गठन

घाइते ४७ मध्ये तीनको अवस्था गम्भीर
श्रावण २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
कैदीबन्दीबीचको झडपमा एकको मृत्युपछि कैलाली कारागारमा दिनभर तनाव, घटनाको छानबिन गर्न समिति गठन

कैलाली । एक जनाको ज्यान जाने गरी र ४७ जनाभन्दा बढी घाइते हुने गरी कैलाली जिल्ला कारागारमा रहेका कैदीबन्दीबीच भएको झडपको अनुसन्धान गर्न कैलालीका सहायक प्रमुख जिल्ला अधिकृतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहने गरी छानबिन समिति गठन गरेको हो। 

समितिलाई घटनाको छानबिन गरी १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु हुनाको साथै ४७ जना घाइते भएका छन् । 

घटनामा धनगढी-४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो । मृतक चौधरी लागुऔषध मुद्दामा थुनामा थिए । यसैबीच कारागार झडपमा मृत्यु र घाइते भएकाहरूका आफन्तले कारागार प्रशासनको लापरवाहीले घटना भएको र घाइतेहरूले राम्ररी उपचारसमेत नपाएको आरोप लगाएका छन् । 

घटनापछि कारागार आज दिनभर नै तनावग्रस्त बनेको थियो भने सशस्त्र प्रहरीलगायत बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। कैदीलाई सरूवा गर्ने विषयलाई लिएर दुई समूहबीच केही दिनदेखि दैनिकजसो झडप भइरहेको अवस्थामा शुक्रबार राति झडपले चर्को रूप लिएको हो । 

एक सय ५० जनाको क्षमताको कैलाली कारागारमा सात सयभन्दा बढी कैदीबन्दी रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित