काठमाडौं । नि:सन्तान दम्पत्तिलाई सन्तान सुख दिने आईभीएफ सेवाले सन्तान जन्माउन योग्य आमा बाबुलाई पनि चाहेका बेलामा बच्चा जन्माउन सक्ने गरी भ्रुण फ्रिज गरेर राख्ने सुविधासमेत दिएको छ ।
डिम्ब र शुक्रकिटको संयोजनबाट भ्रुण तयार पारेर फ्रिजिङ गर्ने वा डिम्ब र शुक्रकिट छुट्टा-छुट्टै फ्रिजिङ गरे वर्षौंपछि बच्चा जन्माउने यो तपाईंको रोजाइको विषय हो । यस्तो सेवा अहिले नेपालमै पनि उपलब्ध छ ।
कृपाल गौतमको यो रिपोर्ट
आईभीएफ अर्थात् ‘टेस्ट ट्युब बेबी’ जन्माउने प्रक्रियामा डिम्ब र शुक्रकिटको संयोजनमा एकभन्दा बढी भ्रुण तयार भएमा एउटा बच्चा तत्काल जन्माई अरूलाई पछि जन्माउने गरी फ्रिज गरेर पनि राख्न सकिन्छ ।
यस प्रक्रियालाई एम्ब्रियो फ्रिजिङ भनिन्छ र यो सेवा नेपालमा उपलब्ध छ । यस्तो फ्रिजिङ गरेर कति वर्षसम्म राख्न सकिन्छ र वर्षौं फ्रिजिङ गरेर राखेको भ्रुणबाट स्वस्थ्य शिशु जन्मिन्छ भन्ने जिज्ञासा हुन सक्छ ।
अमेरिकामा हालै ३० वर्षसम्म फ्रिजिङ गरेर राखेको भ्रुणबाट बच्चा जन्मिएको छ । यसले मानव जीवनमा नयाँ सम्भावनलाई उजागर गरेको छ । चिकित्सकहरूका अनुसार आईभीएफमार्फत तयार पारिएको भ्रुणलाई ५०औं वर्षसम्म पनि फ्रिजिङ गरेर राख्न सकिन्छ । त्यति मात्र हैन शुक्रकिट तथा डिम्ब छुट्टा-छुट्टै पनि फ्रिज गरेर वर्षौंसम्म राख्न सकिन्छ र नेपालमा पनि यसको अभ्यास भइरहेको छ ।
प्रजनन योग्य उमेरमा डिम्ब र शुक्रकिट बढी क्षमतावान हुन्छन् जुन उमेर ढल्कदै जाँदा कमजोर हुँदै जान्छ । यसकारण कसैले बढी क्षमतावान भएकै समयमा डिम्ब र शुक्रकिट फ्रिज गरेर वा संयोजनमार्फत भ्रुण तयार पारेर पछि बच्चा पाउने गरी राख्न सक्छन् ।
यसैगरी आईभीएफ प्रविधिमा संयोजन गरेर भ्रुण तयार पार्दा एक भन्दा बढी भएमा र तत्काल सबै बच्चा पाउन सम्भव नभएमा पछि पाउने गरि पनि फ्रिज गरेर राख्न सक्छन् ।
पचासौं वर्षसम्म कसैले डिम्ब, शुक्रकिट वा भ्रुण फ्रिज गरेर राख्न चाहेमा कति खर्च लाग्ला त ? यसलाई फ्रिज गर्दा, फ्रिजिङ चार्ज, विभिन्न रसायन, जनशक्ति तथा उपकरण प्रयोग हुने भएकाले वार्षिक निश्चित रकम त चाहिन्छ नै । तर यति नै लाग्छ भनेर भन्न सकिँदैन । यससम्बन्धी स्पष्ट कानुन नहुँदा लाखौं रकम पनि लिइरहेका छन् ।
आईभीएफ सेन्टरपिच्छे फरकफरक शुल्क हुने भएकाले यति नै भन्ने छैन । सरकारले पनि कुनै मापदण्ड बनाएको छैन । अहिले नेपालमा आईभीएफ सेवा सञ्चालन गर्न २५ निजी र २ सरकारी गरी २७ स्वास्थ्य संस्थाले स्वीकृति लिएका छन् ।
थप एक दर्जन संस्थाले यो सेवा सञ्चालन गर्न खोजिरहेका छन् । अझ यो बारेमा मानिसको चासो र आवश्यकता बढ्दै गएको अवस्थामा यसको गुणस्तरका बारेमा सरकारले मापदण्ड नबनाउँदा अवैध धन्दासमेत मौलाएको छ ।
जुन कुरा भरखरै सिआईबीले गरेको अनुसन्धानबाट पनि खुलेको छ । यसकारण आईभीएफ प्रविधिबाट बच्चा जन्माउने तथा फ्रिजिङ गरेर राख्ने सम्बन्धमा तत्काल कानुन र मापदण्ड बनाउनु पर्ने भइसकेको छ । विज्ञानको आविस्कारसँगै मिल्दो कानुन बनाउनु राज्यको दायित्व पनि हो ।
तर पनि पचासौं वर्षसम्म भ्रुण फ्रिज गरेर राखेर त्यसपछि जन्माइएको बच्चाको उमेर चाँही कति हुन्छ ? सामान्यता मानिसको उमेर सय वर्ष मान्ने हो भने त्यो गर्भमा भ्रुण बनेको देखिनै उमेर जोडिन्छ । तर चिकित्सकहरूका अनुसार फ्रिजिङ गरेर राखिएको भ्रुणमा, भ्रुण बढेर बच्चा बन्ने प्रक्रिया रोकिन्छ अर्थात पज हुन्छ । र, जहिले फ्रिजिङबाट निकालेर आमाको गर्भमा राखिन्छ त्यतिबेला देखि मात्रै उसको उमेर गणना हुन्छ ।