भोजपुरको ढल आयोजनामा ढिलासुस्ती, स्थानीयलाई सास्ती

श्रावण २३, २०८२ |अर्जुन बस्नेत
भोजपुरको ढल आयोजनामा ढिलासुस्ती, स्थानीयलाई सास्ती

भोजपुर / भोजपुर सदरमुकाममा निर्माण भइरहेको ढल आयोजना तोकिएको समयमा निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । संघीय सरकारको ८५ र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जीवाईइसीएल बीडिटीएनएस जेभीले ५० करोड ३१ लाख ४२ हजार ६६३ रुपैयाँमा २०८१ असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि २०७९ असार २९ गते सम्झौता गरेको थियो । सम्झौता पश्चात तत्काल काम सुरु गरेको योजनाको काम हाल सम्म ६५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

भत्काइएको सडक समयमा नबनाई लथालिङ्ग पारेपछि स्थानीय, विद्यार्थी, ज्येष्ठ नागरिकलाई आवतजावतमा समस्या भएको छ । ढल निर्माणका लागि स्थानीय टुडिखेल मुनी देखि बैंकरोड हुँदै च्याङबेनी चोक सम्मको सडक मेसिन लगाएर भत्काउने र भत्काएपछि बनाउन महिनौ लगाउँदा विद्यार्थी, वृद्ध वृद्धालाई र बिरामीलाई अस्पताल लानसमेत स्थानीयले सास्ती बेहोर्नु परेको हो ।

लामो बाटो लानुपर्ने बाध्यता भएपछि स्थानीय आक्रोशित बनेका छन् । ठेकेदारले पर्याप्त कामदार लगाउन नसक्दा ढल निर्माणको काम लथालिङ्ग बन्दै गएको छ।निर्धारित समय सकिएपछि थप गरिएको ७ महिनाको समय पनि फागुन ५ गतनै सकियो । थपिएको समय सकिएर ५ महिना वितिसक्दा पनि ढल निर्माणको कामले पूर्णाता पाउन सकेको छैन ।  


Image

अर्जुन बस्नेत

बस्नेत कान्तिपुर टेलिभिजन भोजपुर संवाददाता हुन् ।