काठमाडौं । न्याय परिषद्ले उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति तथा पदस्थापन सिफारिस गरेको छ ।
परिषद्को बिहिबार बसेको बैठकले जिल्ला न्यायाधीशहरूबाट १६ जना, कानुन व्यवसायीबाट ६, न्याय सेवाबाट ३, सरकारी वकिलबाट एक जना र कानुन सेवाबाट एक जना गरी २७ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त तथा पदस्थापन सिफारिस गर्ने निर्णय गरेको हो ।
पहिलो नम्बरमा नियुक्त हुनुभएका न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालतको सुर्खेतको जुम्ला इजलासमा पदस्थापन गरिएको छ ।
जिल्ला न्यायाधीशहरू गोपालप्रसाद बास्तोला गिरिराज गौतम, युवराज गौतम, तेजनारायण पौडेल, प्रकाश ढुंगाना, दीपककुमार खरेल, शिवबहादुर राना, कमलप्रसाद पोखरेल दलबहादुर केसी, वासुदेव न्यौपाने, प्रकाशचन्द्र अधिकारी, केशवप्रसाद अधिकारी, रमेशप्रसाद ज्ञवाली,उद्धवप्रसाद भट्टराई, दीपक खनाल र अवनी मैनाली भट्टराई उच्चमा नियुक्त भएका छन् ।
यस्तै उच्च अदालत पोखराका रजिस्ट्रार खड्गराज अधिकारी, सहन्यायाधिवक्ता शंकर खत्री, सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेल र कानुन मन्त्रालयका सहसचिव कोमलबहादुर खत्री पनि उच्च अदालतका न्यायाधीशमा सिफारिस भएका छन्।
त्यस्तै कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट, प्रतापसिंह ठकुराठी , बालकृष्ण गैरे , निशा बानियाँ , श्यामकुमार विश्वकर्मा र अरुणकुमार पञ्जियार नियुक्त भएका छन् ।