सप्तरी लालु यादव मृत्यु प्रकरण : संघर्ष समितिको २४ घण्टे अल्टिमेटम

चार बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र
श्रावण २२, २०८२ |आरएन विश्वास
सप्तरी लालु यादव मृत्यु प्रकरण : संघर्ष समितिको २४ घण्टे अल्टिमेटम

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीको गोली लागेर मृत्यु भएका लालु यादवको प्रकरणमा गठित संघर्ष समितिले २४ घण्टै अल्टिमेटमसहित चार बुँदै माग पूरा गर्न गएराति प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय नेपाली काँग्रेसका नेता दिपेन्द्र यादवको संयोजकत्वमा गठन भएको २५ सदस्यीय राजगढ गाउँपालिकास्तरीय संघर्ष समितिले मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बुझाएको हो ।

कमलपुरमा यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षकलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुपर्ने, प्रहरी उपरीक्षक गौतम केसीलाई अबिलम्ब विभागीय कार्वाही गर्नुपर्ने मागसहित यादव हत्याको गम्भीर उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको छ । यसैगरी मृतक यादवलाई शहीद घोषणा गर्दै परिवारलाई क्षतिपूर्ती उपलब्ध गराउन र सीमा क्षेत्रमा प्रहरी आतंक बन्द गरी शान्ति सुरक्षाका लागि प्रशासनद्वारा नियमित निगरानी गर्न मागसमेत प्रजिअलाई बुझाएको ज्ञापन पत्रमा गरिएको छ ।

आफुहरुले सप्तरी प्रशासनसमक्ष राखेको माग २४ घण्टाभित्र पूरा नभए थप आन्दोलन घोषणा गर्न बाध्य हुने संघर्ष समितिका संयोजक दिपेन्द्र यादवले जानकारी दिनुभयो ।

गएको मंगलबार राति मदिरा नियन्त्रणमा लिन जाँदा स्थानीयले ढुँगामुडा गरेपछि गोली चलाउनुपरेको दाबी प्रहरीले गरिरहेको छ भने मृतकका परिवारले यादवलाई पक्रेर गोली हानेर मारेको दाबी गरिरहेका छन् ।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।