सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा गएराति प्रहरीले तस्करी नियन्त्रण गर्ने नाममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पक्रेर गोली हानेर मारेको आरोप लगाउँदै राजविराजमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।
उनीहरूले जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रहरीविरूद्ध नाराबाजी गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।
गएराति प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका ३७ वर्षीय लालु यादवको मृत्यु भएको थियो । तर, सप्तरी प्रहरीले भने भारततर्फ भइरहेको मदिरा तस्करी नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीय व्यक्तिले घरेलु हतियारसहित आक्रमण गर्न थालेपछि प्रतिरक्षामा गोली चलाउनुपरेको दाबी गरेको छ ।
त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली तिघ्रामा लागि घाइते भएका यादवको उपचारको क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राति नै मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । झडपमा दुई जना प्रहरीसमेत घाइते भएको र घटनास्थलबाट ८० कार्टुन मदिरा बरामद गरेको प्रहरीको दाबी छ ।
घटनापछि आक्रोशित बनेका मृतकका आफन्त र स्थानीयले भने तस्करी नियन्त्रणको नाममा प्रहरीले यादवलाई नियन्त्रणमा लिएर गोली हानेको दाबी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिनको मागसमेत गरेका छन् ।
स्थानीय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष रहेका मृतक लालु यादव मदिरा व्यवसायीसमेत रहेको खुलेको छ । यसैबीच सप्तरी उद्योग वाणिज्य संघले कानुनबमोजिम आफ्नो व्यवसाय गरिरहेका यादवलाई प्रहरीले हत्या गरेको भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत बधबार नै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पठाएका छन् ।
व्यवसायीहरूले नियमपूवर्क सरकारले लगाएको कर बुझाएर सीमा क्षेत्रमा व्यसाय गर्दा तस्करीको नाममा यसरी व्यवासयी मार्ने कार्यमा संलग्न भएका माथि छानबिन हुनुपर्ने माग उद्योग वाणिज्य संघले गरेको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतक परिवारसँग छलफलको प्रयास जारी राखेको जानकारी दिनुभएको छ।