सुक्खाग्रस्त मधेशमा ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा अलपत्र, बजेटको टुंगो नहुँदा कामै सुरू भएन

पुराना बोरिङ मर्मतमा पनि बेवास्ता
श्रावण १७, २०८२ |विकास आचार्य
सुक्खाग्रस्त मधेशमा ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्रीको घोषणा अलपत्र, बजेटको टुंगो नहुँदा कामै सुरू भएन

काठमाडौं । तराई-मधेशका नागरिकले खानेपानी र सिँचाइ अभाव झेलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन १० गते प्रभावित क्षेत्र पुगेर ५ सय वटा बोरिङ जडान गर्ने आश्वासन दिनुभएको थियो । तर एक साता बितिसक्दा यसका लागि केही कामै भएको छैन । 

सरोकारवाला खानेपानी मन्त्रालय भने स्रोत अभाव भएको बताइरहेको छ । प्रधानमन्त्रीले नै दिएको आश्वासनसमेत पूरा हुन सकेको छैन । सरकारले सुक्खाग्रस्त तराई-मधेशमा डिप बोरिङ जडान गर्ने घोषणा गरे पनि रकम अभाव रहेको भन्ने यो भनाइ हो, खानेपानी मन्त्रालयका सहसचिव कमल श्रेष्ठको । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १० गते सुक्खाग्रस्त मधेशको अबलोकन गरी ५ सय डिप बोरिङ जडान गर्ने आश्वास दिनुभएको थियो । तर, त्यसयता एउटा पनि जडान भएको छैन । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल बोरिङ जडान गर्ने ठाउँको अध्ययन भइरहेको बताउनुहुन्छ । तर खानेपानी मन्त्रालयका सहसचिव श्रेष्ठको भनाइले के पुष्टि गर्छ भने प्रधानमन्त्रीले मधेश पुगेर आश्वासन त दिनुभयो तर, ५ सय बोरिङ जडान गर्न कति खर्च लाग्छ र कसले उपलब्ध गराउँछ भन्ने कसैलाई थाहा छैन ।

सरकारले मधेशका नागरिकलाई आश्वासन दिएको एक साता बित्दा पनि किन केही काम भएन ? गृहमन्त्री रमेश लेखकसँग प्रश्न गर्दा प्रक्रियामा रहेको जवाफ दिनुभयो ।

प्रधानमन्त्रीले ५ सय बोरिङको कुरा गर्नुभए पनि सरकारको लक्ष्य भने तराई-मधेशमा एक हजार नयाँ बोरिङ जडान गर्ने छ । सरकारले यस्तो दाबी गरिरहँदा बोरिङले भूमिगत पानीका स्रोतको अझ दोहन गर्छ भन्ने कुरालाई भने ध्यान दिइएको छैन ।

सरकारी एक अध्ययनले भन्छ- मधेशमा पहिले नै जडान गरिएका ४ सय १० बोरिङ सामान्य मर्मत गर्दा सञ्चालनमा आउने अवस्थामा छन् । तर, नयाँ बोरिङ जडान गर्ने बताइरहेको सरकारलाई पुराना बोरिङ मर्मतमा भने चासो छैन ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


सम्बन्धित