रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँ जाने वैकल्पिक सडक खण्डमा पर्ने भटौली खोलाको पक्की पुल कटानको उच्च जोखिममा परेको छ।
मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ पकरबासलाई जोड्ने यो पुलको पिलरमा शनिवार बिहान परेको अविरल वर्षासँगै खोलाको बाढी सिधै ठोक्किँदा संरचना कमजोर बन्दै गएको हो।
स्थानीय केदार प्रसाद ढुङ्गेलका अनुसार, केही दिनअघि पनि खोलाको बाढीले सामान्य असर पारेको भए पनि शनिबारको बाढीले पिलरमा अति प्रभाव पारेको छ।
खोलाको बहाव पिलरमै ठोक्किँदा संरचना थप कमजोर बनिरहेको खाँडादेवी-४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताउनुभयो । “टेवा पर्खाल भत्किएको छ, अहिले साना सवारी मात्र चल्न नसक्ने अवस्था छ,” वडाध्यक्ष पौडेलले भन्नुभयो।
उहाँकाअनुसार खाँडादेवी गाउँपालिका, मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई तत्काल जानकारी दिइएको छ । यो पुलमा पूर्वाधार विकास कार्यालय रामेछापले शुक्रवारबाट सुरक्षात्मक काम सुरू गरेको थियो ।
गत वर्षको असोजमा खुर्कोटको पुल बगाएपछि त्यस क्षेत्रमा बेलीब्रिज जडान गरिएको थियो। तर १५ टनभन्दा बढी तौलका मालवाहक सवारी साधन बेलीब्रिज प्रयोग गर्न नसक्ने भएकाले अहिले सबै भारवाहक गाडी त्यही भटौली खोलाको पुलबाट सञ्चालन हुँदै आएका छन् ।
स्विस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)अन्तर्गत स्वच्छन्द सिर्जना जेभिले आर्थिक वर्ष २०७१/०७२ मा करिब ४ करोड रूपैयाँ लागतमा निर्माण भएको थियो ।
४० मिटर लम्बाई रहेको यो पक्की पुल रामेछापको वैकल्पिक यातायात सञ्जालमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। पुल थप क्षतिग्रस्त भएमा तीन वटा गाउँपालिका र काठमाडौँसहितको वैकल्पिक यातायात र आपूर्तिमा गम्भीर प्रभाव पर्ने स्थानीयको चिन्ता छ।
गत वर्षको असोजमा आएको बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप र दोलखाबाट काठमाडौँ आउँ-जाऊँ गर्ने गाडीले त्यही बाटो प्रयोग गरेका थिए।