बिपी र अरनिको सडकखण्डमा ३० वटा सचेतनामूलक बोर्ड राखियो

श्रावण १६, २०८२ |पुजन धिताल
बिपी र अरनिको सडकखण्डमा ३० वटा सचेतनामूलक बोर्ड राखियो

काभ्रे । विपत् व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले बिपी राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा सचेतनामूलक सूचना बोर्डहरू राखिएको छ।

२०७९ सालदेखि निरन्तर सडक सुरक्षासम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको ट्राफिक प्रहरी र नेपाल प्रहरीले शुक्रबार बिपी राजमार्गको २५ स्थान र अरनिको राजमार्गको ५ स्थान गरी जम्मा ३० स्थानमा ३० वटा सचेतनामूलक बोर्डहरू राखिएको हो।

बोर्डमा पहिरो जाने स्थान तथा सम्भावित दुर्घटना स्थल जनाइएको छ भने प्रत्येक बोर्डमा सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सुरक्षाका उपायहरू, ट्राफिक नियमको पालनाको महत्त्व, ज्यान गुमाउने सम्भावनाबारे चेतावनीसहितका सन्देश उल्लेख गरिएको छ।

ट्राफिक प्रहरी, नेपाल प्रहरीसँगै प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल समेत बोर्ड लगाउँदै राजमार्गमा पुग्नु भएको थियो । सडक किनारमा हुने दुर्घटनालाई न्युनीकरण गर्न र यात्रुलाई समयमै सतर्क गराउन यस्तो पहललाई दीर्घकालीन रूपमा विस्तार गरिने योजना रहेको आयोजकहरूले बताएका छन्।

विशेषगरी घुम्ती, उकालो-ओरालो, भीरकट्टामा केन्द्रीत गराई बोर्डहरू राखिएको छ । जहाँ विगतमा दुर्घटनाको सम्भावना बढी देखिएको थियो। यस किसिमको पहलले आगामी दिनमा सडक दुर्घटनामा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।