काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनले आर्थिक अभाव देखाउँदै चितवनको भरतपुर-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामबाट हात झिकेपछि त्यसलाई अघि बढाउने काम भरतपुर महानगरपालिकाले गर्यो ।
गत वर्षदेखि पुनः सुरू भएको निर्माणको काम अहिले सुस्त छ । जसका कारण १० करोड बढी रकम फिर्ता भएको छ भने ठेक्काअनुसार समयमै निर्माणको काम सम्पन्न हुनेमा आशंका छ ।
गत वर्ष असार २३ गते भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएपछि आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य भदौदेखि पुनः सुरू भयो ।
सुरूआती चरणमा कामले अपेक्षित गति लिएको थियो । प्यारापिटको सोलिङ र दुई वटा भीआइपी टावरको संरचना निर्माण एकैसाथ अघि बढाइएको थियो । तर, गत फागुनसम्म राम्रै प्रगति देखिएको यो परियोजना पछिल्लो केही महिनायता भने सुस्त गतिमा अघि बढिरहेको छ ।
सम्झौता भएको एक वर्ष पुग्दासम्म निर्माण कार्य अपेक्षित रूपमा अगाडि बढ्न सकेको छैन । भीआइपी टावर १ को पहिलो तलाको ढलान मात्र सम्पन्न भएको छ भने दोस्रो टावरको पहिलो तलासमेत ढलान हुन बाँकी छ ।
प्यारापिटतर्फ, पहिलो प्यारापिटको ढलान सकिएको छ । दोस्रो प्यारापिटको पहिलो ब्लकको मात्रै ढलान सम्पन्न भएको छ । थप दुई ब्लकमा बल्ल रड बाध्ने काम भइरहेको छ । पानी निकासका लागि निर्माण गरिएको ड्रेनेजमा ढकन राख्ने काम पनि अझै अधूरो छ ।
हालसम्म करिब आधा मात्रै सम्पन्न भएको छ । मैदान निर्माणको काम एक वर्षभित्र सुरू गर्ने भनिए पनि त्यसमा कुनै प्रगति देखिएको छैन । यो एक वर्षको अवधिमा रंगशालाको भौतिक प्रगति ४० प्रतिशत पुग्ने लक्ष्य थियो, तर हालसम्म जम्मा २७ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।
निर्माण कार्यमा ढिलाइ हुँदा संघीय सरकार र बागमती प्रदेश सरकारबाट विनियोजन गरिएको १० करोड ५४ लाख ३० हजार १ सय ७० रूपैयाँ फ्रिज भएर फिर्ता जानु परेको छ ।
निर्माण कम्पनीले समयमै काम नगरेपछि संघीय सरकारले निकासा गरेको २५ करोड रूपैयाँ मध्ये केबल १७ करोड ६५ लाख ६९ हजार ८ सय ३० रूपैयाँ मात्र खर्च हुन सक्यो । यस्तै, बागमती प्रदेश सरकारले निकासा गरेको १० करोडमध्ये ६ करोड ८० लाख रूपैयाँ मात्र खर्च गरिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले 'गौरवको आयोजना'मा समेटेको छ । परियोजनाको वित्तीय साझेदारीअनुसार बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत खर्च बेहोर्ने सहमति छ ।
निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार कुल लागत ७८ करोड ५० लाख ९१ हजार रूपैयाँमा ३० महिनाभित्र रंगशालाको निर्माण सम्पन्न गर्नुपर्नेछ । यो अवधिमा १५ हजार दर्शक क्षमताको प्याराफिट, दुई वटा तीन तले भीआइपी टावर तथा खेल मैदान निर्माण गरिनुपर्नेछ ।