संखुवासभा । नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुंग, धनकुटा लगायतका जिल्लामा लाखेनाच सुरु भएको छ । नेवार संस्कृति र परम्परा अनुसार भीमसेन मन्दिरमा पुजाआजा र सगुन खुवाएर लाखे निकालिएको हो ।
संखुवासभामा खाँदबारी र चैनपुरमा रहेको भिमसेन मन्दिरबाट बिधिवत रुपमा लाखेनाच सुरु गरिएको छ । नेवा देय दबु संखुवासभाको नेतृत्वमा सदाझै यो बर्ष पनि खाँदबारी, चैनपुर, सिभुवा, तुम्लिडटार लगायतका व्यापारीक केन्द्रमा लाखेनाच सुरु गरिएको हो । लाखे कृष्णजन्माष्टमीको दिन भिमसेन मन्दिरमा बिधिवत रुपमा नाच प्रदर्शन गरेपछि सकिन्छ । यो बर्ष नेवा देय दबले सूचिकृत गरेरमात्रै लाखे नाच्न दिने व्यवस्था मिलाएको छ । संखुवासभा भित्र बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिहरुलाई मात्रै लाखेनाचमा सहभागी हुन आग्रह पनि गरेको छ ।
खाँदबारी नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठका अनुसार लाखे नाच्न अनिवार्य रुपमा नेवा देय दबुमा सुचिकृत हुनुपर्ने छ । लाखेनाचमा मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्न पाईदैन, उनले भने, यातायातका साधन, पैदलयात्री र घरघरमा गएर जथाभाबी रकम असुल्न पाईने छैन । लाखे नेवार समुदायको संस्कृति संग जोडिएको छ, नेवा देय दबु संखुवासभाका अध्यक्ष सीता शाक्य भन्नुहुन्छ, अन्य वर्ग वा समुदायबाट लाखेनाच प्रस्तुत गर्न पाईने छैन । नेवार जातीको संस्कृति र पहिचानको रुपमा मनाईने जात्रा पर्वको हो, उहाँले भन्नुभयो, नेवा देय दबुले बिशेष परिस्थिती बाहेक अन्य समय अवसर वा अन्य कार्यमा लाखेनाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरेको छ ।