धादिङमा इभी माइक्रो दुर्घटना, २ जना घाइते

भाद्र ६, २०८२ |पोषनाथ अधिकारी
धादिङमा इभी माइक्रो दुर्घटना, २ जना घाइते

धादिङ/ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ विशालटारमा इभी माइक्रो दुर्घटना भएको छ । माइक्रोमा सवार १३ वर्षीय बालक सहित २ जना घाइते भएका छन् ।

बुटवलबाट काठमाडौँ तर्फ आउदै गरेको बागमती प्रदेश ०६–००१ ज ६७६३ नम्बरको इभी माईक्रो दुर्घटना भएको हो । शुक्रबार साँझ करिब ६ बजेको समयमा चालकले नियन्त्रण गुमाएर सडकमै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

चालकसहित माइक्रोमा ११ जना सवार थिए । १३ वर्षीय बालक सहित २ जना घाइतेलाई उद्दार गरेर नजिकैको अस्पतालमा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

इभी माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।