रसुवा । रसुवाको भोटेकोशीमा आएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो कटान गरेको छ भने त्रिशूली जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
रसुवाको भोटेकोशी नदीमा आज बिहान बाढी आएको हो । आज बिहान सवा दुई बजे भोटेकोशीको सतह एक्कासि बढेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केरूङ खोलामा भेलबाढी आएको हो कि, दायाँतर्फको ल्हेन्दे खोलामा बाढी आएको हो भन्ने यकिन भएको छैन। रसुवा आसपास पानी परेको छैन । भोटेकोशीमा के कारणले बाढी आयो भन्ने यकिन नभएको प्रशासनले जनाएको छ । बाढीबाट क्षति हुन नदिन आवश्यक तयारी गरिएको प्रशासनको दावी छ ।
बिहान आएको बाढीले टिमुरेदेखि रसुवागढीसम्मको बाटो कटान गरेको छ । बाढीका कारण मानवीय क्षति नभएको प्रशासनले जनाएको छ । बाढी आउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ । आजको बाढीले त्रिशूली जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। क्षतिको विवरण भने आइसकेको छैन।
बिहान ४ बजे नुवाकोट विदुर पुगेको भोटेकोशीको भेलबाढी सवा ७ बजे बाढी धादिङ पुगेको छ । अहिले त्रिशूली नदी आसपासमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।
गत असार २४ गते ल्हेन्दो खोला भेलबाढी आउँदा २० जना बेपत्ता भएका थिए। त्यसमध्ये केहीको शव फेला परेको थियो। त्यतिबेला ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा हिमनदीको माथिल्लो सतहमा रहेको सुप्राग्ल्यासियर ताल विस्फोट हुँदा भेलबाढी आएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो। त्यतिबेला केरूङ नाकाको मितेरी पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका गाडीहरू बगाएको थियो। त्यस्तै स्याफ्रुबेसीदेखि केरूङसम्म पुग्ने बाटो कटान गरेको थियो।