इलाममा माई र जोगमाई खोलाको मुहान क्षेत्र जोगाउन संरक्षण अभियान, खुला पशुचरनमा रोक लगाइयो

श्रावण ६, २०८२ |विप्लव भट्टराई
इलाममा माई र जोगमाई खोलाको मुहान क्षेत्र जोगाउन संरक्षण अभियान, खुला पशुचरनमा रोक लगाइयो

इलाम । इलाम र झापाको पानीको मूख्य स्रोत मानिने माइखोलाको मुहान क्षेत्र उजाडिँदै गएकोमा चिन्ता बढेपछि त्यस क्षेत्रका स्थानीय मूहान क्षेत्रका डाँडाकाँडा संरक्षणमा जुटेका छन् । 

इलामका मुख्य ४ खोलामध्ये माई र जोगमाई खोलाको मूहान क्षेत्रमा वृक्षरोपण गरि खुला चरिचरन रोक्दै वन संरक्षणको प्रयास गरिएको हो ।

जैविक विविधता र पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै महत्वपूर्ण उत्तरी इलामको कालपोखरी विखे क्षेत्रसहितका डाँडाकाँडाको संरक्षणका लागि स्थानीय बासिन्दा अघि सरेका हुन् । 

भारतको दार्जिलिङको सिंहलिला निकुञ्जसँग जोडिएको यो क्षेत्रमा दैनिक सयौँ पर्यटक आहोरदोहोर गर्छन् । सिंहलिला क्षेत्रमा घना जंगल रहेपनि नेपालतर्फको भू-भागका धेरै क्षेत्र उजाड छन् ।

इलाम सदरमुकामबाट करिब ४० किलोमिटर उत्तरमा रहेको यो क्षेत्र माईखोलाको जलाधार हो । सबैभन्दा अग्लो ३ हजार ६ सय ३६ मिटरको उचाइँको सन्दकपुर क्षेत्रमा मूख्य मूहान भए पनि ३ हजार मिटरमाथिका क्षेत्रमा सहायक मूहानहरू छन् । 

अहिले कालपोखरी, सन्दकपुर २ माईमझुवाको फुस्रेपोखरी र माईजोगमाई-५ को जोरपोखरी क्षेत्रमा वृक्षरोपण भइरहेको हो । दुर्लभ रेडपाण्डासहित विभिन्न जंगली जनवार पाइने यो क्षेत्रमा रेडपाण्डाको आहाराकोरूपमा रहेको भालुचिण्डे, टेंगालगायत विभिन्न लेकाली प्रजातिका बिरूवाहरू रोपिएको हो । 

स्थानीयको उत्साहमा वातावरण क्षेत्रमा कृयाशील महिलाहरूको संस्था सहयात्रा नेपालले सहयोग गर्दै आएको छ । रोपिएका बिरूवा संरक्षणका लागि स्थानीयस्तरमा पाइने, मालिङ्गो र घुँडेको प्रयोग गरेर बारबेरासमेत लगाइएको छ । 


Image

विप्लव भट्टराई

भट्टराई कान्तिपुर टेलिभिजनका इलाम संवाददाता हुन् ।