कोशी प्रदेशमा ६१ दशमलव ७९ प्रतिशत रोपाइँ

श्रावण ४, २०८२ |महाप्रसाद खतिवडा
कोशी प्रदेशमा ६१ दशमलव ७९ प्रतिशत रोपाइँ

विराटनगर । कोशी प्रदेशमा ६१ दशमलव ७९ प्रतिशत रोपाइँ भएको छ। 

कोशी प्रदेशमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर खेतमध्ये एक लाख ७० हजार सात सय ९० हेक्टरमा रोपाइँ सकिएको कोशी प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ ।

गत वर्ष यो अवधिमा ८२ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो । लामो सयमसम्म वर्षा नभएको र सिँचाइका लागि नहरको व्यवस्था नभएका कारण रोपाइँ कम भएको अधिकारीहरूको भनाइ छ । बीउ छिप्पिन लागेपछि बोरिङबाट पानी पटाएर रोपाइँ गर्न बाध्य भएको किसान बताउँछन् ।

झापा, मोरङ र सुनसरीमा ६१ दशमलव ७३ प्रतिशत रोपाइँ भएको छ। हिमाली क्षेत्रमा ५० दशमलव ४२ प्रतिशत रोपाइँ भएको छ भने पहाडी क्षेत्रमा ६४ दशमलव ५५ प्रतिशत रोपाइँ भएको छ। 

सबैभन्दा बढी सोलुखुम्बुमा ८४ दशमलव ३१ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम ताप्लेजुङ्ग जिल्लामा ४३ दशमलव ७३ प्रतिशत भएको छ । अकासेपानी कुरेर रोपाइँ गर्नुपर्दा उत्पादन प्रभावित हुँदै आएको छ ।


Image

महाप्रसाद खतिवडा

खतिवडा कान्तिपुर टेलिभिजनका विराटनगर संवाददाता हुन् ।