काठमाडौं । राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छुट्टै समन्वय समिति गठन गरेको छ ।
राउटे समुदायका लागि विधेयक बनाउन, राउटेको प्रोफाइल तयार पार्न र राउटे करिडोरको खाका तयार गर्नका लागि समिति गठन गरिएको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिनुभयो ।
राउटे समुदायको संरक्षणका लागि सरकारले गरिरहेका गतिविधिबारे शुक्रबार प्रदेशसभाको सामाजिक विकास समितिलाई जानकारी दिन बैठकमा पुग्नुभएका मन्त्री भण्डारीले अबको एक महिनाभित्र राउटेको प्रोफाइल तयार पार्ने, पछिल्लो दश वर्षमा राउटे समुदाय बसोबास गरेको स्थानको पहिचान गरेर राउटे करिडोर तयार पार्ने र राउटे समुदायको संरक्षणका लागि छुट्टै विधेयकको ड्राफ्ट तयार पार्नेगरी समिति गठन गरिएको जानकारी दिनुभयो ।
५ सदस्यीय समितिमा आदिवासी जनजाति महासंघ कर्णाली प्रदेशका अध्यक्ष वीरबहादुर रावत भोटे, मन्त्रालयको सामाजिक महाशाखाका सुवर्ण खड्का, दैलेखको गुराँस गाउँपालिकाले तोकेको एकजना प्रतिनिधि, राउटे समुदायमा काम गरिरहेका हीरासिंह थापा र नगेन्द्र उपाध्याय रहेका छन् ।
पछिल्लो समय राउटेको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै कानुन नै बनाएर संरक्षण गर्नुपर्ने आवाज उठ्न थालेको छ ।