खोटाङ । साकेला गाउँपालिकाले वृक्षरोपण अभियान सुरू गरेको छ । जिल्लाकै सबैभन्दा सानो (पाँच वडा रहेको) यो गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उद्देश्यले सडक किनारा, विभिन्न पार्क (उद्यान), सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरूमा वृक्षरोपण कार्य सुरू गरिएको हो ।
गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा गाउँपालिकाभित्र पर्ने सबै वडाका स्थानीयवासी, कर्मचारी तथा जनप्रतिनिधिको टोलीले विभिन्न प्रजातिका बिरूवा रोप्न थालेका छन् ।
वातावरणीय रूपमा भूगोल र माटो सुहाउँदो प्रकारका ज्याकार अण्डा, धुपी, कल्की, अशोका, क्रिष्मश ट्री, लालीगुराँस लगायतका बिरूवा रोप्न सुरू गरिएको गाउँपालिका प्रवक्ता एवम् वडा नं.-५ मात्तिमका वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभएको छ । यस वर्ष तीन हजार बिरूवा रोप्ने तयारी गरिएको गाउँपालिका जनाएको छ ।
पालिकालाई वातावरणमैत्री बनाउन सबै सामुदायिक विद्यालय, स्वास्थ्यसंस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवा लगायतका स्थानमा बोट बिरूवा रोप्ने अभियान सञ्चालन गरिएको हो।