कुलिङ पिरियड छेडखानीका लागि गठित संसदीय छानबिन समितिले टुंग्यायो कार्यविधि

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुलिङ पिरियड छेडखानीका लागि गठित संसदीय छानबिन समितिले टुंग्यायो कार्यविधि

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रूप दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रूप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरू गरेको र बुधबारको बैठकले अन्तिम रूप दिएको जानकारी दिनुभयो । 

अब पारित गर्न मात्रै बाँकी रहेको उहाँको भनाइ छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । 

गडबडीबारे छानबिन गर्न प्रतिनिधि सभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो । समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहनुभएका सांसद जीवन परियार हुनुहुन्छ । 

संसदको नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २-२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १-१ जना सदस्य छन् । 

नेपाली कांग्रेसबाट संयोजक परियारसहित र सुशीला थिङ तथा नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य समितिमा हुनुहुन्छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की हुनुहुन्छ । समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ । बैठक बिहीबार सवा १२ बजे बस्नेछ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.