काभ्रे । वि.पि. राजमार्गको असोज दोश्रो साता क्षति पुगेकै स्थानमा गएरातिको वर्षाका कारण झरेको लेदोले अवरुद्ध सडक सुचारु भएको छ ।
काभ्रेको रोशी गाउँपालिका–९, पिन्थलीस्थित वि.पि. राजमार्ग खण्डमा खहरे खोलाबाट आएको लेदोले सडक पूर्णरूपमा अवरुद्ध हुँदा ७ घण्टासम्म सवारी जाम हुँदा यात्रु सास्तीमा परेका थिए । उक्त सडकमा पहिरो पन्छाएपछि साँढे आठबाट सडक सञ्चालनमा आएको काभ्रे प्रहरीले बताएको छ ।
त्यसैगरी मङ्गलटार स्कुल नजिकको क्रसर क्षेत्र, पिङथली, र नार्केमा समेत खसेको पहिरो र ढुंगा पन्छाइएको ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाजुले जानकारी दिनुभयो।
रातिदेखि नै सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका थिए। ट्राफिक प्रहरीका अनुसार सवारी साधनहरू धुलिखेल वडा नं. ९ काभ्रे भञ्ज्याङदेखि नै रोकिन थालेपछि राजमार्ग क्षेत्रमा सवारी चाप बढेको थियो।
प्रहरी, स्थानीय तह र सडक डिभिजनको समन्वयमा जेसिबि प्रयोग गरेर बिहान ८:३० बजेपछि लेदो तथा अवरोध पन्छाउँदै दुबैतर्फको सडक सवारीका लागि खुलाइएको हो।