काठमाडौं । ताइवानले चीनले आफूमाथि गर्न सक्ने काल्पनिक आक्रमणको प्रतिकारको तयारीस्वरूप अहिलेसम्मकै सबैभन्दा ठूलो वार्षिक युद्ध अभ्यास सुरू गरेको छ ।
'हान क्वाङ्ग अभ्यास' नाम दिइएको १० दिने उक्त युद्ध अभ्यास बुधबारदेखि सुरू भएको हो । यस अभ्यासमा बेइजिङ्गले ताइवानमाथि आक्रमण गर्नुअघि टापुको सञ्चार प्रणालीमा आक्रमण गरेपछिको प्रतिक्रियाको पूर्वाभ्यास गरिँदैछ ।
युक्रेनको अवस्थाबाट पाठ सिक्दै वास्तविक युद्धमा ताइवानले कस्तो समस्याको सामना गर्न सक्छ भन्ने कुरालाई ध्यानमा राखेर यो अभ्यास गरिएको ताइवानका एक वरिष्ठ रक्षा अधिकारीले बताएका छन् ।
यो अभ्यासमा स्थल, जल र हवाई सेनाका साथै २२ हजार आरक्षित सैनिक संलग्न हुने ती अधिकारीको भनाइ छ । ताइवानले यो सैन्य अभ्यास सुरू गर्नु एक दिनअघि चिनियाँ सैन्य प्रवक्ताले चीनमा ताइवानको एकीकरण अवश्यम्भावी रहेको दृढता व्यक्त गरेका थिए ।
चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नै भू-भाग भएको दाबी गर्छ भने ५ वर्षदेखि यो टापु वरपर विभिन्न सैन्य अभ्यास गर्दै दबाब बनाउँदै आएको छ । ताइवान सरकारले भने चिनियाँ दाबीलाई अस्वीकार गर्दै टापुका जनतालाई आफनो भविष्य आफैं निर्धारण गर्ने अधिकार रहेको बताउँदै आएको छ ।