काभ्रे । काभ्रे हुँदै पूर्वतर्फ जाने ‘लाइफलाइन’ मानिएको विपि राजमार्ग पुनः अवरुद्ध भएको छ। मङ्गलबार साँझको वर्षापछि आएको लेदो र सहिद पहिरोका कारण राजमार्ग ठप्प भएको हो।
रोशी गाउँपालिकाको पिङथली, नार्के र मङ्गलटार स्कुल क्रसर नजिकका क्षेत्रमा पहिरो र ढुङ्गा खसेपछि सडक अबरुद्ध भएको काभ्रे ट्राफिक प्रहरी कार्यालय प्रमुख सुनिल धाजुले जानकारी दिनुभयो। उहाँका अनुसार वडा नम्बर ९ अन्तर्गत पर्ने पिङथली र मङ्गलटार क्षेत्रमा लेदो तथा नार्केमा ढुङ्गा खसेकाले बाटो पूर्णरूपमा अवरुद्ध भएको हो।
सडक खुलाउने कार्यका लागि JCB परिचालन भइसकेको र प्रयास जारी रहेको भए पनि अहिले सवारी साधनहरूलाई विभिन्न स्थानमा रोकिएको छ। यसैक्रममा, धुलिखेल वडा नं ९ को काभ्रे भञ्ज्याङबाटै सवारी चाप देखिन थालेको प्रमुख धाजुले बताउनुभयो।
यसअघि प्रशासनले गत असार २२ गतेदेखि साँझ ६:३० बजेबाट बिहान ५ बजेसम्म राजमार्गमा सवारी सञ्चालन रोक लगाएको थियो, तर अहिलेको अबरुद्धताले दिनको समयमा समेत यात्रु तथा सवारीधनी मर्कामा परेका छन्।