काठमाडौं । रसुवास्थित नेपाल-चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीमा परी नेपाली र चिनियाँ नागरिकसहित २० जना बेपत्ता भएका छन् । ल्हेन्दे खोला नेपाल प्रवेश गरेपछि भोटेकोशीको नामले चिनिन्छ । ल्हेन्दे खोला बग्ने क्षेत्रमा भारी वर्षा नहुँदै कसरी बाढी आयो ? कारण के हुनसक्छ ?
मंगलबार बिहान एक्कासि नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा ठूलो बाढी आयो । यति ठूलो बाढी नै आउने गरी वर्षा भने भएको थिएन । लेदोसहितको बाढीले रसुवाको भोटेकोशी नदी तटीय क्षेत्रमा बसोवास गर्नेहरूको उठिवास लगायो । भोटेकोशी रसुवाको धुन्चे फेदीमा पुगेर त्रिशुली बन्छ । जल तथा मौसम विज्ञान विभाग भन्छ, गएको तीन-चार दिनयता रसुवागढी क्षेत्रमा कुनै वर्षा भएको छैन न चीनको भू-भागमा नै भारी वर्षा भएको देखिएको छ । तर, एक्कासि ल्हेन्दे खोलामा बाढी आयो ।
बाढी आउनुको खास कारण भने अझै यकिन भएको छैन । जल तथा मौसम विज्ञान विभागले बाढी आउनुको कारण अध्ययन भइरहेको जनाएको छ ।
विभागले सेन्टिनल एसियासँग भूउपग्रह तस्बिर माग गरेको छ । २४ घण्टाभित्र तस्बिर प्राप्त हुन सक्ने र त्यसपछि मात्रै यकिन गरेर के भएको हो भन्न सकिने बाढीविद् विनोद पराजुलीले बताउनुभयो ।
रसुवाको जिल्ला प्रशासन कार्यालयले सीमापारि र वारि दुवैतर्फ मनसुन सक्रिय रहेकाले सतर्कता अपनाउन सूचना जारी गरे पनि केही दिनयता यस्तो सूचना जारी भएको छैन । यस कारण पनि चिनियाँ भूमिमा हिमताल फुटेर बाढी आएको हुन सक्ने आशंका छ ।
इसिमोड र यूएनडीपीले सन् २०१५ मा गरेको एक अध्ययनले त्रिशूली बेसिनमा २४२ हिमताल रहेको देखाएको छ । तीमध्ये अति जोखिममा २ वटा हिमताल छन् । एउटा नेपालमा र अर्को चीनतर्फ रहेको पाइएको छ । हाल ल्हेन्दे खोलामा आएको बाढी र चिनियाँ क्षेत्र तर्फको हिमताल फुटेर हो कि भनेर आकलन विज्ञको छ ।
नेपालमा २१, चीनमा २५ र भारतमा एक गरी ४७ वटा हिमताल अति जोखिमको सूचीमा छन् । रसुवाको बाढी गत वर्ष सोलुखुम्बुको थामेमा हिमताल विस्फोट भएर वा दुई महिनाअघि हुम्लामा हिमताल दबिएर आएको बाढी जस्तै पनि हुनसक्छ । यति ठूलो मानवीय र भौतिक क्षति हुने गरि भएको विपद्को मुहान सीमापारि नै भएको हुन सक्ने आकलन भइरहेका बेला चिनियाँ संचारमाध्यमले भने यसबारे विस्तृत समाचार सम्प्रेषण गरेको देखिएको छैन ।
यता नेपाल सरकारले छिटोभन्दा छिटो चीन सरकारको समेत सहयोग र समन्वयमा यो विपद्को कारण पत्ता लगाउनु पर्नेछ । यस बाहेक एकीकृत विपद् सूचना प्रणाली निर्माण गर्ने तथा विस्फोटको सूचीमा रहेका हिमतालको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरणसहित दीर्घकालीन योजना बनाउन आवश्यक छ ।