बाढीपहिरोको दश महिना, काभ्रेको बेथानचोकका पीडितमा फेरि त्रास सुरु

असार २४, २०८२ |पुजन धिताल
बाढीपहिरोको दश महिना, काभ्रेको बेथानचोकका पीडितमा फेरि त्रास सुरु

काभ्रे । गत असोज दोस्रो साताको बाढी पहिरोले क्षति पुर्‍याएको १० महिना बितिसक्दा काभ्रेको बेथानचोक गाउँपालिकाले बाढीपीडितको पुनर्स्थापनाको लागि संघ सरकारले दिएको विस्तृत क्षति आकलन डीडीएअन्तर्गतका काम गर्दैआइरहेको छ । 

संघ सरकारले निजी आवास पुनर्निर्माणका लागि बनाएको मापदण्डअनुसार संघले ५०, प्रदेशले ३० र स्थानीय सरकारले २० प्रतिशत रकम सुनिश्चितता गर्नुपर्नेमा गाउँपालिकाले सो रकम सुनिश्चित गर्नसक्ने अवस्था नभएकाले स्थायी आवास कहिले बन्छ भन्ने अन्योल बढेको छ ।

बेथान्चोक गाउँपालिकामा गत असोजको बाढीपहिरोमा १२ जनाले ज्यान गुमाएका थिए भने एकजना अझै बेपत्ता छन् । बेथानचोकमा मात्रै करिब ९ अर्बको क्षति भएको आकलन छ । 

सबैभन्दा धेरै क्षति वडा नम्बर २ र ४ मा भएको छ । पालिकाभित्र ६५० भन्दा बढी घरहरू पूर्णरूपमा क्षतिग्रस्त हुँदा ४४ सय घरधुरी प्रभावित भए । तीमध्ये स्थानीय सरकारले विस्तृत क्षति आकलनअन्तर्गत २३९ घरधुरीको पहिलो किस्ताका लागि विवरण केन्द्रमा पठाएको छ । पालिकाले सुरुमा खाद्यान्नका लागि १५ हजार र अस्थायी आवासका लागि २५ हजार रुपैयाँ दिए पनि यो बर्खामा फेरि बाढीपहिरोको डरले घर छाडेर रात काट्न अन्तै जानुपर्दा पीडितले राज्य भएको अनुभूति गर्नसकेका छैनन् ।

जसोतसो अस्थायी आवासको रकम पाएका पीडितहरू घर पुनःनिर्माण र बारी सुधारमा राज्यको सहयोगको अपेक्षामा छन् । यता स्थानीय सरकारले प्रदेश र संघ सरकार दुवैले पीडितको पुनस्र्थापनासागै पूर्वाधार निर्माणमा पनि बेवास्ता गरेको गुनासो गरेको छ ।

स्थायी आवास निमार्णका लागि डीडीए सुरु भएको पनि २०८२ वैशाख ३ गते, २ महिना भइसक्यो । तर पनि आवास निर्माणको प्रगति छैन । संघीय सरकारले बनाएको मापदण्डअनुसार स्थानीय सकारले हाल्नुपर्ने २० प्रतिशत जोहो गर्नै नसक्ने अवस्था छ । त्यसैले पुनर्स्थापनाको मोडेल पुनर्विचार गरेर पीडितलाई सहायता पुग्ने गरी आवास पुननिर्माण गर्नुपर्ने देखिएको छ। 


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।