कञ्चनपुर । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको छ । वर्षासँगै बाढी र डुबानका कारण जनजीवन प्रभावित भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बेलौरीमा पछिल्लो २४ घण्टाको अवधिमा २ सय ६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २ सय २ दशमलब २ मिलिमिटर वर्षा मापन भएको छ । जोखिम भएकाले सावधानी अपनाउन विभागले सबैमा आग्रह गरेको छ ।
अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना र अन्य ४ जना गरेर प्रहरीले ८ जनाको उद्धार गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । यसैगरी पुनर्बासमा एउटा घर तथा बेदकोट र भिमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ । तर मानवीय र ठूलो भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका टोलहरूमा भारी वर्षाका कारण डुबान भएको छ, जसले गर्दा स्थानीयहरू प्रभावित भएका छन्। वडा नम्बर ८ र १२ लगायतका क्षेत्रका घरहरूमा पानी पसेर लाखौंको क्षति भएको छ, जसमा फर्निचर र खाद्यान्न लगायतका सामग्रीहरूमा क्षति पुगेको छ।
सुदूरपश्चिमका तराईका जिल्लाहरूमा डुबानको समस्या छ भने, सुरक्षाकर्मीहरूले उद्धार कार्य गरिरहेका छन् र प्रशासनले सावधानी अपनाउन आग्रह गरेको छ। उता धनगढी-१२ पनि पुरै डुबानमा छ। बजारको मुख्य सडक पनि डुबानमा छ। सुरक्षाकर्मीले उद्धारको काम गरिरहेका छन्।
सेती नदिमा पानीको वहाव बढेपछि बैतडीको सिगास -५ ढुङ्गाढका स्थानीय त्रसित छन् । खोला तथा नदीहरुमा पानीको बहाव बढेपछि डुबान भएको छ। अहिलेसम्म ठुलो क्षतिको घटना भने नआएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ। विपदको समयमा सावधानी र सुरक्षा अपनाउन प्रशासन सबैलाई आग्रह गरेको छ ।