मकवानपुर । गत असोज १२ गतेको बाढीले कुलेखानी र सिस्नेरी सडकखण्डमा पक्की पुलसहित केही स्थानमा बाटो नै बगाएपछि हेटौंडा कुलेखानी, सिस्नेरी काठमाडौं सडकको यात्रा कष्टकर बन्यो ।
सडक बिग्रिएको करिब १० महिनापछि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले दुवै सडक मर्मतसहित कालोपत्रे गरेपछि अहिले यात्रा सहज बनेको छ ।
कुलेखानी हुमानेभञ्याङ सडकखण्डको १२ दशमलव ६ किलोमिटर सडककालोपत्रे भइसकेको छ । पीआर इन्फ्रास्टक्चर कम्पनीले यो सडकखण्ड बर्खा लाग्नुअघि नै कालोपत्रे गर्दा यात्रु र यसक्षेत्रका स्थानीयलाई सहज भएको छ ।
४० करोड ७२ लाख रूपैयाँको लागतमा पीआर इन्फ्रास्टक्चरले यो सडक पुन: निमाण गरेको हो । असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले समयमै काम सकिँदीँदा यो सडक खण्डको यात्रा सहज बनेको हो ।
दैनिक हजारौाको संख्यामा साना सवारी साधन गुड्ने यो सडक सञ्चालन हुँदा काठमाडौँ, मकवानपुर, बारा, पर्सा, रौतहट सर्लाही चितवनसम्मका नागरिकलाई सहज भइरहेको छ ।
भारतबाट काठमाडौँ आउने तिर्थ यात्रीसमेत यो सडक प्रयोग गरिरहेका छन् । गत असोज १२ गते आएको बाढीले बगाएको सिस्नेरी सडकखण्डको तीनसय मिटर सडक एककरोड लागतमा निर्माण भइसकेको छ । यस्तै ज्यामिरे सडक खण्डमा छ सय मिटर सडक चारकरोड ४५ लाख लागतमा निर्माण भएको छ ।
बाढीले क्षति पुर्याएको महालक्ष्मी खोलामा समेत पक्की पुल बनाउने काम भइरहेको छ । कुलेखानीका सिमखोलामा भने अस्थायी बेलीब्रिज राख्न काम सुरू गरिएको छ ।