काठमाडौं । इरानको राजधानी तेहरानबाट उद्धार गर्न शुरु गरिएका नेपाली इरानकै अर्को शहर मशहद पुगेका छन् । नेपाल सरकारको आग्रहमा भारत सरकारले उनीहरुको उद्धार गरिरहेको हो । उनीहरु मंगलबारसम्ममा भारत आइपु्ग्ने र त्यसपछि नेपाल ल्याइने बताइएको छ । इरान र इजरायलबीच युद्ध चर्किँदै गएपछि इरानको राजधानी तेहरानबाट ११ नेपाली अहिले मशहद आइपुगेका हुन् ।
युद्धग्रस्त इरानमा अहिले १६ जना नेपाली छन् । तीमध्ये ११ जना स्वदेश फर्कने तयारीका साथ अहिले मशहद शहर पुगेका छन् । ५ जना नेपाली भने अहिले पनि तेहरानको जेलमा छन् । नेपाल सरकारको आग्रहमा इरानस्थित भारतीय दूतावासले नेपालीलाई उद्धार गर्ने भएपछि ११ जना मसद आएर भारत उडानको प्रतीक्षामा बसेका हुन् । परराष्ट्र मन्त्रालयले ती नेपाली बुधबारसम्म नेपाल आइपुग्ने जनाएको छ । जेलमा रहेका बाँकी ५ जनामध्ये तीन जनासँग राहदानी नभएकाले प्रक्रिया पूरा गरेर चाँडै फर्काउने मन्त्रालयले जनाएको छ । यो विषयमा सोमबार बसेको संसद वैठकमा सांसदहरुले समेत चासो देखाएका छन् ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै परराष्ट्रमन्त्री आरजु राणाले इरान-इजरायल युद्धमा प्रभावित नेपालीलाई सुरक्षित उद्धार गर्ने प्रयास जारी रहेको बताउनुभयो । मन्त्री राणाले इजरायल र इरानमा रहेका नेपालीको उद्धार गर्न विभिन्न संघसंस्था र राजदूतसँग संवाद गरिरहेको बताउनुभएको हो ।
इजरायलका नेपाली सुरक्षित : परराष्ट्र
यसैगरी मन्त्रालयले इजरायलमा झन्डै सात हजार नेपालीहरु रहेको र उनीहरु सुरक्षित रहेको जानकारी दिएको छ । तीमध्ये ९ सय जनाले इजरायलस्थित नेपाली दूतावासको सम्पर्कमा आएर फाराम भरेका छन् । ३५ जनाले मात्र नेपाल फर्कने इच्छा देखाएका छन् । इजरायलमा रहेका नेपालीले फर्कन चाहे त्यसको पनि व्यवस्थापन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले गैरकानुनीरुपमा विदेश गएका नेपालीलाई पनि विवरण भरिदिन आग्रह गर्नुभएको छ । उहाँले हमासको नियन्त्रणमा रहेका विपिन जोशीको पनि रिहाइको प्रयास जारी राखिएको र अहिलेसम्म कुनै खबर भने नभएको बताउनुभयो ।
यसैबीच मन्त्री राणाले नेपाल-भारतबीच भइरहेको सिमा विवाद समाधान गर्ने विषयमा पनि वार्ता भइरहेको जानकारी दिनुभयो । विगत दुई वर्षदेखि वार्ता रोकिए पनि अहिले स्थापित संयन्त्रमार्फत् काम सुरु गरिएको उहाँको भनाइ थियो ।