काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भएका विमानस्थल सञ्चालन गर्न तथा नयाँ विमानस्थलसम्बन्धी मागहरु पूरा गर्न ५० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले स्रोतको सीमितताका कारण धेरै योजना समेट्न नसकिएको प्रस्ट पार्दै मन्त्रालयले निर्माण गरेको बजेट तोकिएको सिलिङभित्रै सीमित बताउनु भयो ।
मन्त्री पाण्डेले मन्त्रालयअन्तर्गत निर्माणाधीन सबै योजनाहरूलाई अधुरो नराख्ने गरी बजेट विनियोजन गरिएको जिकिर गर्नुभयो । उहाँले नेपाल वायुसेवा निगमको सेवालाई प्रभावकारी बनाउनको लागि नीतिगत सुधारका कामहरु भइरहेको बताउनु भयो । मन्त्री पाण्डेले नेपालका पर्यटकीय क्षेत्रहरुको सुधारका लागि समेत पर्यटन नीतिको पुनरावलोकन गर्न लागेको बताउनु भयो । उहाँले मन्त्रालयका आएका सबै योजनाहरुको व्यवस्थित रेकर्ड राखेको र उक्त योजना कार्यान्वयनका लागि आवश्यक पहल थाल्ने समेत बताउनु भयो । उहाँले बजेट माग्ने र दिने नभई सबैको सहभागितामा योजना बनाउने परिपाटी रोज्नुपर्ने बताउनु भयो ।