सोलुखुम्बु । मनसुन शुरु भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक संयुक्त विपद् पोष्ट स्थापना गरिएको छ । विपद्को सामना गर्न सदरमुकाम नजिकै रहेको गार्मामा डेडिकेटेड संयुक्त विपद् ब्यवस्थापन पोष्ट स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जानकारी दिनुभयो ।
विपद्का घटनाको सूचना आउना साथ परिचालन हुने गरी नेपाल प्रहरी र शसस्त्र प्रहरीको तालिम प्राप्त सुरक्षाकर्मीको टोलीलाई सोलुदुधकुण्ड नगरपालिका ७ को जोरबौद्धमा कार्यालय भाडामा लिएर नै तैनाथ अवस्थामा राखिएको प्रजिअ घिमिरेले बताउनुभयो । हाललाई दैनिक ११ जनाको टोली बस्ने र उक्त पोष्टमा विपद्का लागि चाहिने बन्दोबस्तीका सबै सामान राखिएको छ । सम्भावित बाढी पहिरोका घटनामा उद्धारमा प्रयोग हुने सामान र गाडी पनि तैनाथ राखिएको नेपाल प्रहरीका डिएसपी मनोजी कुवँरले जानकारी दिनुभयो । टोलीमा सबै तालिमप्राप्त सुरक्षाकर्मी रहेको र सूचना आउनासाथ तत्काल परिचालन हुने शसस्त्र प्रहरीका डिएसपी गोविन्द पोख्रलको भनाइ छ ।
जल्लामा रहेको विभिन्न स्थानीय तहको समन्वयमा उद्धारमा प्रयोग हुने सामग्री जुटाईएको छ भने मनसुनभर र ३ महिनाका लागि घर भाडामा लिएर नै पोष्ट खडा गरिएको हो ।